त्रिपाल टाँगेर एक करोड २० लाख १



हेटौंडा । लोथर खोलामा एक्साभेटरहरुले ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरिरहेका छन् । त्यहाँबाट बिनारसिद एक करोड २० लाख रुपियाँ अवैध तरिकाले संकलन गरिएको छ ।

लोथर खोला मकवानपुर र चितवनको सिमानामा पर्छ ।
लोथर खोलामा ढुंगा, गिट्टी, बालुवा लिने झिसमिसेदेखि ट्रिपरहरुको लाइन लाग्ने गरेका छन् । मकवानपुर र चितवन जिल्ला समन्वय समितिका कर्मचारी, स्थानीय प्रशासनको मिलेमतोमा बिनारसिद दुई महिनामा एक करोड भन्दा बढी रकम संकलन गरिएको हो ।

लोथर खोलामा चितवन समन्वय समितिले दुई वटा र मकवानपुर समन्वय समितिका तर्फबाट एउटा एक्साभेटरले ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेर ट्रिपरमा लोड गर्दाको मात्र रसिद नकाटी पैसा संकलन गर्ने गिरोह सक्रिय छ ।

ट्रिपरमा ढुंगा, गिट्टी, बालुवा लोड गरेर चितवनतर्फ लाग्दा ठेक्का लागेका निर्माण ब्यवसायीले रसिद काटेर प्रति घनमिटरका दरले रकम संकलन गर्छन् । तर, खोला उत्खनन् गरेर ट्रिपरमा लोड गर्दा त्यहाँका युवा समूहले चितवनतर्फबाट बिनारसिद ७ सय रुपियाँ र मकवानपुरबाट प्रतिट्रिपर ६ सय रुपियाँ लिँदै आएको चितवन भण्डाराका एक ट्रिपरचालक बताउँछन् ।

रसिद काटेर आरक्षले प्रतिट्रिप दुईसय रुपियाँ लिन्छ । त्यसबाहेक ट्रिपरमा लोड र उत्खनन् शुल्क भन्दै ठूलो रकम लिँदै आएको यातायात ब्यवसायी र चालक बताउँछन् । लोथर खोलामा दुवै जिल्लाबाट त्रिपाल टाँगेर रसिद काट्न बसेको स्थानबाट गाढीको संकेत नम्बर दिएर बिनारसिद पैसा संकलन गरिँदै आएको उनीहरुको गुनासो छ ।

चितवन जिससले माघ र फागुनमा दुई वटा एक्साभेटरले उत्खनन् गरेर लोड गरेको बिनारसिद रकम उत्खनन् गरेबापत् रकम ९० लाख संकलन गरेको छ । मकवानपुर समन्वय समितिले भने माघ तेस्रो हस्ता उत्खनन् गर्न लोथर खोलामा चिह्न लगाए पनि उत्खनन् भने फागुन दोस्रो साताबाट मात्र सुरु गरेको छ ।

यहाँबाट भने समन्वय समितिका कर्मचारीको निर्देशनमा ३० लाख बिनारसिद रकम संकलन गरिएको छ । ढुंगा, गिट्टी, बालुवाको ठेक्का पाएको कम्पनीले जिल्लाभर यसको राजस्व उठाउने गरेको छ । उत्खनन् गरेर ट्रिपरलाई लोड गरिदिएबापत् प्रतिट्रिपर उत्खनन् गर्नेले ६ सय रुपियाँका दरले संकलन गरेको जिल्ला समन्वय समिति मकवानपुर समन्वय अधिकारी नारायणप्रसाद मैनालीले बताउनुभयो ।

कार्यालयले नदीजन्य पदार्थको ठेक्का लगाएको र लोड पनि निर्माण कम्पनीले एक्साभेटरको भाडाबापत् लिएको हुनसक्ने उहाँले बताउनुभयो । मकवानपुरमा लगाइएको एउटा एक्साभेटर दिनभर उत्खनन् गर्दा २४ हजार भाडा पर्छ । तर, यहाँ उत्खनन् गर्नेहरुले एक दिनमा एक लाख रुपियाँ बिनारसिद संकलन गरेका छन् ।

अवैध तरिकाले रकम संकलन गरेको विषयमा दुवै जिल्ला प्रशासन र समन्वय समितिमा जानकारी दिँदा पनि त्यसको सुनुवाइ नभएको ट्रिपरचालक बताउँछन् ।

रसिद नकाटी संकलन भएको एक करोड भन्दा बढी रकम उत्खखन् गर्ने युवा, समन्वय समिति कर्मचारी, प्रहरी र स्थानीय प्रशासनका कर्मचारीलाई बुझाउने गरेको त्रिपाल टाँगेर बसेका एक युवाले बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले लोथरमा बिनारसिद लोड गरिएको नाममा रकम संकलनका विषयमा अनुगमन पछिमात्र भन्न सकिने बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरले १८ करोडमा जिल्लाभरको निकासी ठेक्का लगाएर एकमुष्टरुपमा नगद रकम ठेकेदारसँग लिएको छ । सोहीबापत् नदीजन्य पदार्थ उत्खनन् गर्न पाउनुपर्ने माग ठेकेदारको छ ।

सोहीबमोजिम राष्ट्रिय प्राथमिकताका योजनामा गिट्टी, बालुवा, ग्रेवल पु¥याउन मनहरी खोला, राप्ती खोला र सामरी खोलालगायत बगरमा उत्खनन् भइरहेको छ । तर, ती आयोजनाका आफ्नै क्रसर उद्योग छैनन् ।

प्रतिक्रिया दिनुहोस्