मिस ग्लोब सुन्दरीको उत्साह



कार्यक्रम चल्दा जति खुसी प्रतियोगी सुन्दरीहरू थिए, त्यति नै उत्साहित थिए आयोजक, निर्णायक र अभिभावक। भोलि सोमबार राजधानीमा हुन लागेको मिस ग्लोब इन्टरनेसनल २०१८ को मिस ग्लोब ट्यालेन्ट उपउपाधिका भएको कार्यक्रमको रमाइलो क्षण थियो यो। मिस ग्लोब इन्टरनेसनल २०१८ को मिस ग्लोब ट्यालेन्ट उपउपाधिका लागि प्रतियोगितामा प्रतिस्पर्धी युवतीहरूबीच गहिरो स्पर्धा भएपछिको रमाइलो दृश्य थियो यो। स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गर्न लागेको मिस ग्लोब इन्टरनेसनल २०१८ मा सहभागीहरूले प्रतियोगिताअन्तर्गतको मिस ग्लोब ट्यालेन्ट उपाधिका लागि आफूभित्र लुकेको प्रतिभा प्रस्तुत गर्दा प्रतियोगीहरूसँगै त्यहाँ उपस्थित सबै दंग भए।

प्रतियोगीहरूले यो उपउपाधिका लागि ट्यालन्ट राउन्डका निर्णायकहरूलाई आकर्षित गर्दै अभिनय, नृत्य, चित्रकला, उद्घोषणकला, गायनकला, वक्तृत्वकलालगायतका आफूभित्र अन्तरनिहित प्रतिभा प्रदर्शन गरेका थिए। सबै प्रतिस्पर्धी एक–अर्कामा खरो सावित हुने प्रयासमा प्रस्तुत भएका थिए। जसलाई हेरेर आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले ट्यालेन्ट राउन्डबाटै प्रतियोगिताको उद्देश्य धेरै हदसम्म पूरा भएको बताइन्। निरौलाले युवतीहरूको आत्म र व्यक्तित्व तथा प्रतिभाको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बताइन्।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा सम्राट साह र श्रद्धा खरेलको कार्यक्रम संयोजनमा हुने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा क्रान्तिशिखा धिताल, कृशांगी राजभण्डारी, मेलिना थापा, सृष्टि शर्मा, रीमा भट्टराई, सुरुचि तामाङ, विनीताकुमारी ठाकुर, रीना बम्जन, अनुशा श्रेष्ठ, निर्जला अधिकारी, सानु परियार, यमुना विष्ट, श्वेता खनाल र ओसन प्रधान गरी १५ युवती स्पर्धामा उत्रँदै छन्।

ट्यालेन्ट राउन्डका लागि कलाकारहरू ज्योति काफ्ले, आदित्य बुढाथोकी, गायक कलाकार श्रीकृष्ण लुइँटेल ‘बोकेदारी’, गायिका रीता केसी, नितु कोइराला, टिचर आइकन अफ द इयर २०१७ शिल्पी गुप्ता, गायक सीमान्त उदास निर्णायक रहेका थिए। आयोजक पूजा निरौलाका अनुसार मिस ग्लोब ट्यालेन्ट उपाधिको घोषणा भने अन्तिम प्रतिस्पर्धाकै दिन हुनेछ।

प्रतिक्रिया दिनुहोस्