गुट उपगुटमा रुमलिँदै कांग्रेस



रामकृष्ण चापागाईं, काठमाडौं

हालै सम्पन्न स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा नसोचेको हार बेहोरेसँगै कमजोर बनेको नेपाली कांग्रेस पार्टी संगठन र नेतृत्व सुदृढीकरणको नाममा फेरि आन्तरिक गुट उपगुटमा विभाजनतर्फ उन्मुख भएको छ।

नेतृत्व तहमा रहेका प्रभावशाली नेताहरू मात्र हैन पार्टीभित्रको सशक्त भ्रातृ तथा शुभेच्छुक संघसंस्थासमेत गुट उपगुटमा विभाजित भएकै कारण कांग्रेसको सम्पूर्ण सांगठनिक संरचना कमजोर हँुदै गएको छ।कांग्रेसभित्र संस्थापन पक्षका रूपमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुट क्रियाशील छन्। सशक्त भ्रातृ संगठन नेपाल तरुण दल, नेपाल महिला संघ तथा नेपाल विद्यार्थी संघमा पनि यही गुटको क्रियाशीलता रहेको छ।

साथै, कांग्रेसभित्र महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला समर्थकको पनि छुट्टै गुट उपगुट रहेको पाइन्छ। अन्य केही प्रभावशाली नेताको छुट्टै उपगुट पनि बेलाबेलामा सक्रिय भएको देखिन्छ।

आन्तरिक गुट उपगुटको विवादकै कारण सभापति देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केही सदस्य मनोनित गर्न नसकेका कारण केन्द्रीय समितिलाई दुई वर्षसम्म पनि पूर्णता दिन सक्नुभएको छैन। पार्टी संगठनलाई चलायमान बनाउने महत्त्वपूर्ण विभागहरू पनि गठन हुन सकेको छैन। जसका कारण सभाापति देउवामाथि विधिमुखीभन्दा पनि नेतामुखी भएको आरोप लागिरहेको छ। आफ्नो गुटको नेताको कुराबाहेक अरूको कुरै नसुन्ने भन्दै सभापति देउवालाई नेतृत्व छोड्नसमेत दबाब दिइएको छ।

निर्वाचन परिणामपछि नेतृत्वको कमजोरी औंल्याउँदै चर्को आवाज उठेसँगै कांग्रेसभित्रको गुटगत भेलाहरू अझ बढ्न थालेको छ। निर्वाचनको पराजयबारे विस्तृत समीक्षा गर्न कांग्रेसको चैत्र ९ गते केन्द्रीय समितिको बैठक बस्दै छ। यो बैठकमा नेतृत्वको आलोचनाका साथै गुट उपगुटका कारण भएको कमजोरीको बारेमा पनि छलफल हुने बताइएको छ।नेतृत्वमाथि नै प्रश्नचिह्न उब्जाउँदै पार्टीभित्र बढ्दै गएको गुट उपगुटलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा सभापति देउवा आफू निकट नेताहरूसँग छलफल गरिरहनुभएको छ।

विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतलगायतका आफू निकटका नेताहरूसँग सभापति देउवाले छलफल गरिरहँदा वरिष्ठ नेता पौडेल समूहले आफू निकटका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूसँग छुट्टै भेला आयोजना गरी कांग्रेसलाई सशक्तरूपमा अघि लैजाने योजना बनाइरहेका थिए।

पौडेल समूहले भेला आयोजना गरी पार्टीभित्र नेता बलियो हुने र पार्टी कमजोर हुने अवस्थाबारे चिन्ता गरेको भोलिपल्टै शुक्रबार अर्को गुटका नेता सिटौलाले छुट्टै भेलाको आयोजना गरी सोही चिन्ता व्यक्त गर्नुभएको छ। आफू निकटका नेता तथा डाक्टर, वकिल र प्राध्यापकहरूसमेतको बाक्लो उपस्थिति रहेको भेलामा सिटौलाले पार्टी नेतृत्वप्रति लक्षित गर्दै कांग्रेसभित्र सामन्ती संस्कारको अन्त्य हुन नसकेको बताउनुभएको थियो। साथै, उहाँले कांग्रेस बलियो छ भन्दैमा सुतेर बस्नु हँुदैन, जागरुकता ल्याउनुपर्छ भन्दै पार्टी नेतृत्व नयाँ चेतनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको थियो।

हालै सम्पन्न निर्वाचनमा कमजोर नतिजा ल्याएका कारण कांग्रेस प्रतिपक्षको भूमिकामा छ। राष्ट्रिय राजनीतिमा पटकपटक सरकारमा गइरहेको र सधैं चर्चामा रहिरहने कांग्रेसलाई अब ५ वर्ष प्रतिपक्षको भूमिकाबाटै अघि बढ्नुपर्ने अवस्था आएको छ।

आगामी निर्वाचनमा जनमत बढाउनका लागि पनि कांग्रेसलाई सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निभाउनुपर्ने चुनौती छ। पार्टीभित्रको सांगठनिक संरचनाहरूलाई सुदृढीकरण गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनु अझ ठूलो चुनौती छ।

कांग्रेसभित्र रहेको सबै गुटउपगुटको उद्देश्य एउटै रहेको पाइन्छ। उनीहरूको उद्देश्य हो– ‘सबै परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको हो। यसको संस्थागत विकासका लागि कांग्रेसको भूमिका महत्त्वपूर्ण हुन्छ। कम्युनिस्टहरूले लोकतन्त्रलाई खतरामा पार्न थालेका छन् यसलाई जोगाउनुपर्छ।’

कांग्रेसको नीति सिद्धान्त आमजनमानसमा लैजानुपर्छ। आन्तरिक रूपमा एक ढिक्का भएर अघि बढ्नुपर्छ। पार्टी र संगठनलाई व्यापक सुदृढीकरण गर्नुपर्छ। पार्टी व्यक्तिको इच्छाअनुसार होइन विधिअनुसार चल्नुपर्छ। आगामी निर्वाचनका लागि जनमत तयार पार्नुपर्छ। कांग्रेसभित्र मौलाउँदै गएको गुटउपगुटले यी उद्देश्य प्राप्त हुनेमा भने शंका छ।

पार्टीको स्वार्थअनुसार भन्दै गुटको स्वार्थअनुसार अघि बढे कांग्रेसले उपलब्धि हासिल गर्न नसक्ने भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्नुहुन्छ– ‘आन्तरिक रूपमा पार्टी एकढिक्का भएर अघि बढ्नुपर्छ। कांग्रेस कमजोर भयो भने देश कमजोर हुन्छ।’

प्रतिक्रिया दिनुहोस्