ठेकेदारको लापर्वाहीले सेन्जेन जलविद्युतको काम रोकियो



नेपाल समाचारपत्र, रसुवा ।
४२.५ मेगावाटको तल्लो सान्जेन जलविद्युत कम्पनीको पावर हाउस निर्माण काम रोकिएको छ । भारतीय कम्पनी एसीडब्लुले निर्माणको जिम्मा लिएपनि हिमाल हाइड्रोलाई निर्माण कार्यको जिम्मा दिएको थियो । तर हिमाल हाइड्रोले काम गराएको कम्पनीलाई समयमा भुक्तानी नगर्दा पावर हाउस निर्माणको काम झण्डै तीन महिनादेखि ठप्प छ । २०७५ साल माघ १ गतेसम्म निर्माणको सम्पन्न गरिसक्नु पर्ने लक्ष्य राखिएको आयोजनाको अहिलेसम्म झण्डै ६० प्रतिशत मात्र काम भएको छ ।

सान्जेन जलविद्युत आयोजना प्रमुख गणेश केसीका अनुसार चार भागमा विभाजन गरेर काम भइरहेको छ । तर महत्वपूर्ण मानिएको पावर हाउन निर्माणको काम नै रोकिएको छ ।

आयोजना निर्माण गर्न भारतीय कम्पनी एसीडब्लु र नेपाली कम्पनी तुङ्दी कन्स्ट्रक्सनले संयुक्त रुपमा ठेक्का लिएका हुन् । जसमा एसीडब्लुले ७० प्रतिशत र तुङ्दीको भागमा ३० प्रतिशत काम परेको छ । कामको बाँडफाँट गर्दा पावर हाउस निर्माण एसीडब्लु र टनेलको काम तुङ्दीको भागमा परेको थियो । तुङ्दीले कामलाई निरन्तरता दिएपनि भारतीय कम्पनीले जिम्मा लिएको काम भने रोकिएको छ ।

भारतीय कम्पनीले जिम्मा लिएको ठेक्का आफूले २.५ प्रतिशत नाफा खाएर नेपाली कप्पनी हिमाल हाइड्रो कन्स्ट्रक्सलाई दिएको थियो । हिमालले ७ प्रतिशत नाफा खाएर फेरी पावर हाउसको सिभिल वर्कको काम गोमा एचजि कन्स्ट्रक्सनलाई दियो । हिमालले १० करोड ५७ लाख रुपैयाँमा एचजिलाई जिम्मा दिएको थियो । तर पावर हाउस निर्माणमा एसीडब्लुले गत कात्तिकमै रकम भुक्तानी दिएपनि हिमाल हाइड्रोले गोमालाई भुक्तानी दिन नमानेको बताइएको छ ।
भारतीय कम्पनी एसीडब्लुले हिमाल हाइड्रोसँग लिखित सम्झौता गरेको छ भने हिमाल हाइड्रोले गोमा एचजी कन्स्ट्रक्सनलाई काम लगाएको छ । गोमा एचजीले ३ करोड ८६ लाख रुपैयाँ बराबरको काम सकिएको बिल हिमाल हाइड्रोलाई बुझाएको गोमाका प्रवन्ध निर्देशक श्याम घिसिङले बताउनुभयो । सुरुमा ७ प्रतिशत कमिशन खाएर काम गोमालाई दिए पनि अहिले हिमाल हाइड्रकोका प्रवन्धक निर्देशक विनोदकुमार अग्रवाल र इन्जिनियर प्रमेश त्रिपाठीले ३ कारोड ८६ लाखको १० प्रतिशत थप कमिशन मागेको आरोप घिसिङले लगाउनुभयो ।

तर अग्रवालले भने आफूहरुले नमागेको बरु उल्टै पहिलोको ७ प्रतिशतमा थप ३ प्रतिशत थपेर दिन खोजेपनि आफूहरुले नमानेको दावी गर्नुयभो । हिमाल हाइड्रोले भुक्तानी नदिँदा काम रोकिएको हो । अहिलेसम्म २ करोड ८० लाख मात्र भुक्तानी गरेको गोमाले जनाएको छ । हिमाल हाइड्रोले ३० प्रतिशत काम गरिसकेको कम्पनीलाई अब भुक्तानी दिन नसकिने भन्दै गोमा एचजिलाई काम छाडन दवाव दिइरहेको छ । जसले गर्दा निर्माण कार्य अनिश्चित बनेको छ । सान्जेन जलविद्युत आयोजना प्रमुख गणेश केसीले ठेकेदारकै लापरवाहीले काम रोकिएको बताउनभुयो । ‘ठेक्का कोबाट कहाँ पुगेको हो त्यो हामीलाई थाहा छैन । सम्झौता भएको भारतीय कम्पनी एसीडब्लुसँग हो, केसीले भन्नुभयो,‘हामीले उसैलाई दबाव दिने हो, समयमा प्रभावकारी काम भएन भने कार्वाही गर्ने हो ।’

हिमाल हाइड्रकोका प्रवन्धक निर्देशक विनोदकुमार अग्रवालले भने आफूहरुको गल्ती भए कार्वाही गर्न चेतावनी दिनुभयो । पावर हाउस निर्माणमा संलग्न कामदारले लामो समयदेखि भुक्तानी नपाउँदा समस्या भएको बताएका छन् । पावर हाउसका सुपरभाइजर कान्छा तामाङले आफूहरुले ६ महिनादेखि तलव नपाएको गुनासो गर्नुभयो ।सम्झौता गर्ने तर केहि काम भएपछि विभिन्न बाहनामा काम रोक्ने प्रबृतिले आयोजना निर्माण कार्य नै अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्