ऋण अपचलन गर्ने एनसीसी बैंकका १३ जना पक्राउ



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको अभियोगमा १३ जनालाई पक्राउ गरेको छ। २०७२ मंसिर ११ गते नेपाल क्रेडिट एन्ड कमर्स बैंक र तत्कालीन एपेक्स डेभेलपमेन्ट बैंक मर्जरमा जाने औपचारिक सहमतिपछि त्यसको फाइदा उठाउँदै एपेक्स बैंकका तत्कालीन अध्यक्ष, सञ्चालकलगायत उच्च कर्मचारीको मिलेमतोमा अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेको आरोपमा सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी तथा मधुवनलाल श्रेष्ठ, निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, लोकन्थली शाखा प्रमुख सागर न्यौपाने, शाखा प्रबन्धक मानबहादुर राउत, सहायक महाप्रबन्धक विनितमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल र शाखा प्रबन्धक सुदीप थापा रहेका छन्। सबै आरोपीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही र थप अनुसन्धानको काम भइरहेको सीआईबीले जनाएको छ।

सञ्चालक तथा उच्च तहमा रहेका कर्मचारीको मिलेमतोमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकले कमसल धितो प्रयोग गरी ऋण प्रवाह गरेको भेटिएको छ। दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगन्ज शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैंकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपियाँ नोक्सानी पुर्याएको सीआईबीले जनाएको छ।

सीआईबीले बैंकिङ कसुरमा पक्राउ परेका अभियुक्तलाई एक दर्जन बढी शीर्षकमा मुद्दा दायर गरेको छ। एनसीसी बैंकसँगको मर्जरको फाइदा उठाउँदै अध्यक्ष धिताललगायत कर्मचारीले भिरालो तथा पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको, कृत्रिम ऋणीहरू खडा गरेको, निश्चित क्षेत्रको कमसल जमिनमा एकभन्दा बढी ऋणी खडा गरी कर्जा अधिक प्रवाह गरेको भेटिएको छ।

त्यसैगरी बैंकका कर्मचारीले ऋणीको नक्कली आयस्रोतसम्बन्धी विवरणलाई स्वीकृत गरेको, मोटरबाटो नभएको भिरालो पाखोबारी र वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको सीआईबीले जनाएको छ। कमसल धितोबाट छोटो समयमा नै कर्जा प्रवाह गर्न धितो निरीक्षण, कर्जा निर्णय, जग्गा किनबेच रोक्का, कर्जा तमसुक तथा कर्जा प्रवाहलगायतका काम एकै दिनमा गरिएको भेटिएको छ। त्यसैगरी, कमसल जग्गाको धेरै टुक्रा पारी एकभन्दा बढीऋणीहरूको नाममा धितो मूल्यांकनभन्दा अधिक कर्जा दिने गरेको, कर्जा तमसुकमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीसमेत नराखी कर्जा दिएको देखिएको छ।

सावाँ ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरूलाई पनि दोस्रो कर्जा प्रवाह गरेको, एउटै व्यक्ति सञ्चालक हुने तथा पुराना खराब ऋणीलाई संरक्षण गरेको, सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको र अधिकांश धितो मूल्यांकन प्रतिवेदन यथार्थपरक नरहेको सीआईबीले जानकारी दिएको छ।

उक्त घोटाला काण्डमा २० जनाभन्दा बढी व्यक्तिको संलग्नता रहेको हुन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले गत फागुन २० गते सीआईबीलाई अनुसन्धानका लागि पत्र पठाएको थियो। राष्ट्र बैंकले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कर्जा विभाग प्रमुख तथा धितो मूल्यांकनकर्तालगायत माथि पनि छानविन गर्न सीआईबीलाई पत्र लेखेको छ।तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसीसी बैंकबीच भएको मर्जर सहमतिअनुसार १ करोड रुपियाँ माथिको कर्जा प्रवाह गर्दा मर्जर कमिटीबाट स्वीकृति गराउनु पर्ने भए पनि पक्राउ परेका व्यक्तिले सो रकमभन्दा साना १ सय २८ वटा धितो फाइल तयार पारी कर्जा प्रवाह गरेको देखिएको छ।

यसअघि एनसीसी बैंकको करिब दुई अर्ब रुपियाँ बराबर कर्जाको ब्याज र किस्ता उठ्न छाडेपछि राष्ट्र बैंकले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा तत्कालीन एपेक्स बैंकका सञ्चालकले कर्जा दुरुपयोग गरेको भेटिएपछि सीआईबीलाई जिम्मा लगाएको हो। दुरुपयोग भएको कर्जाको शतप्रतिशत नोक्सानी एनसीसी बैंकले व्यहोरेको राष्ट्र बैंकले जनाएको छ। कमसल धितो मूल्यांकन भएका कारण ऋण रकम असुली गर्न कठीन देखिएको छ। पाखो जमिन, खोला छेउको बगर जस्तो जग्गा धितो राखेको तथा अधिकांश ऋणी नै नक्कली तयार पारिएका कारण प्रवाह भएको कर्जा बराबरको रकम असुल्न नसकिने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्