मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेन



मधुसूदन रायमाझी, काठमाडौं

सरकार गठन भएको एक महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले भने पूर्णता पाउन सकेन। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो।

पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरू एमालेका तर्फबाट प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङलाई कानुन, न्याय तथा संसदीय मामिला, जगत विकलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

-जोडिएको २२ दिनमै फुटाइयो मन्त्रालय
– पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी 
– एउटै जिल्लाबाट ज्ञवाली र विष्ट तथा रवीन्द्र अधिकारी र जगत विश्वकर्मा मन्त्री
– ओली सरकारमा कान्छी मन्त्री विना मगर
त्यसैगरी माओवादी केन्द्रका तर्फबाट वर्षमान पुनलाई ऊर्जा जलस्रोत तथा सिँचाइ, गिरिराजमणि पोखरेललाई शिक्षा, विज्ञान प्रविधि, शक्तिबहादुर बस्नेतलाई वन तथा वातावरण, चक्रपाणि खनाललाई कृषि तथा भूमि व्यवस्था र सहकारी, बिना मगरलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
उपप्रधान र राज्यमन्त्री नबाउने नीति प्रधानमन्त्री ओलीले लिए पनि शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा राज्यमन्त्री थपिएको छ। पार्टीभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न प्रधानमन्त्रीले मन्त्रालय टुक्र्याउँदै राज्यमन्त्रीसमेत बनाउनुभएको छ। एमालेबाट गोकुल बाँस्कोटालाई सूचना तथा सञ्चार राज्यमन्त्री, पद्मा अर्याललाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, धनबहादुर बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, रामकुमारी चौधरीलाई कृषि तथा भूमि व्यवस्था र सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

यस्तै विज्ञान तथा प्रविधि मन्त्री रहनुभएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ। गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त ओलीले पहिलो पटक नेकपा एमालेबाट लालबाबु पण्डितलाई वातावरण र थममाया थापालाई महिला बालबालिका मन्त्रीमा नियुक्त गर्नुभएको थियो।

प्रधानमन्त्री ओलीले यसअघि गत फागनु १२ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो। दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा रक्षा मन्त्रीमा ईश्वर पोखरेल, गृह मन्त्रीमा रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादव, अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गर्नुभएको थियो। मन्त्रीहरूले सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ खुवाउनुभएको थियो।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोग तथा निकायका प्रतिनिधि, एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। दोस्रो पटक मन्त्रिपरिषद् विस्तारमा एमालेबाट ६, माओवादी केन्द्रबाट ५ र चार राज्यमन्त्री गरी ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ।
ओली सरकारमा एकै जिल्लाबाट दुई मन्त्री बनेका छन्।
एमालेबाट सचिवद्वय प्रदिप ज्ञवाली र गोकर्ण विष्ट मन्त्री बन्नुभएको हो। ज्ञवाली परराष्ट्रमन्त्री बन्नुभएको छ भने विष्ट श्रम तथा रोजगार मन्त्री बन्नुभएको छ। त्यसै गरी ओली नेतृत्वको सरकारमा कान्छी महिला मन्त्रीको रूपमा बिना मगर बन्नुभएको छ। खानेपानी मन्त्री बन्नुभएकी बिना मगर प्रचण्डको बुहारीसमेत हुनुहुन्छ।

फुटाइयो मन्त्रालय

सानो आकारको मात्र मन्त्रिपरिषद् बनाउने घोषणा गरे पनि प्रधानमन्त्री ओलीले मन्त्रालय गाभिएको २२ दिनपछि केन्द्रीय सरकारका तीन मन्त्रालय फुटाउने निर्णय गर्नुभएको छ।

आकांक्षी व्यवस्थापन र संघीय समाजवादी फोरमलाई सरकारमा सामेल गराउन ओलीले मन्त्रालय संख्या २१ पुर्याएको बताइएको छ। यसअघि ३१ मन्त्रालय रहेकोमा ओलीले प्रधानमन्त्री निर्वाचित भएलगत्तै फागुन ११ मा नेपाल सरकारको कार्यविभाज नियमावली संशोधन गरेर मन्त्रालय संख्या १८ कायम गराउनुभएको थियो।

कार्यविभाजनअनुसार मन्त्रालयको नाम लेखिए पनि मन्त्रालय फुटाइएको छ। यसअघि १८ मन्त्रालय कायम गर्दा जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाइएको थियो। सो मन्त्रालयलाई विभाजन गरी ऊर्जा र सिँचाइ बनाइएको छ। त्यस्तै श्रम, रोजगार, महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय पनि टुक्र्याउने निर्णय भएको छ। एकैठाउँमा आउनुअघि पनि यी दुई मन्त्रालय छुट्टाछुट्टै थिए। श्रम तथा रोजगार एउटा मन्त्रालय र महिला बालबालिका तथा सामाजिक सुरक्षा अर्को मन्त्रलायको रूपमा रहनेछ। शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय पनि टुक्र्याइएको छ।

 सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्टै कायम गरेको छ भने युवा तथा खेलकुद मन्त्रलाय छुट्टै राख्ने निर्णय गरेको छ। संविधानले केन्द्र सरकारमा बढीमा २५ मन्त्री हुनसक्ने व्यवस्था गरेको छ।

फोरम सरकारमा आएन

संघीय समाजवादी फोरमसहित शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहनुभएका प्रधानमन्त्री ओलीलाई फोरमले मन्त्री बन्नेको नामावली नदिँदा पूर्णता पाउन नसकेको बताइएको छ। फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भइएको बताइएको छ। तर फोरमभित्रको विवादको कारण शुक्रबार मन्त्री बन्नेको नामावली उपलब्ध हुन सकेन।

प्रतिक्रिया दिनुहोस्