सिरहामा ९९३ हेक्टर वनक्षेत्रमा अतिक्रमण



लहान ।  संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हेक्टर क्षेत्रफल वन क्षेत्रमध्ये ९९३ दशमलव १४ हेक्टर क्षेत्रफल सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण भएको पाइएको उनले बताए । अतिक्रणमा परेको सामुदायिक वन खाली गराउन प्रयास गरिए पनि राजनीतिक संरक्षणका कारण हटाउन समस्या भएको गुनासो गर्दै प्रमुख सिंहले राजनीतिक दल र स्थानीय प्रशासनबाट उचित सहयोग प्राप्त भए खाली गराइने बताए ।

 

लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका अन्तर्गत सामुदायिक वन अतिक्रमण गरी वनक्षेत्रमा पक्की घरसमेत निर्माण भइरहेको छ । राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय प्रशासनका प्रमुखले वन तस्कर र अतिक्रणकारीलाई कुनै संरक्षण नदिने लिखित प्रतिबद्धता व्यक्त गर्दै अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन सहयोग गर्नेमा जोड दिए । इलाका प्रशासन कार्यालय लहानमा प्रमुख सोमप्रसाद भट्टराईले अतिक्रमणमा परेको सामुदायिक वन क्षेत्रको यकिन गरी तत्काल वन क्षेत्र खाली गराउन प्रशासनको तर्फबाट भरपुर सहयोग गर्ने बताए ।

 

अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन र अतिक्रमणकारीलाई कानूनी दायरामा ल्याउन ठोस् कदम चाल्न वन कार्यालयसँग उनले आग्रह समेत गरे । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपालगायतका राजनीतिक दलका प्रतिनिधिले वन क्षेत्रमा बढ्दो अतिक्रमण र चोरी तस्करी रोक्न आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्