यूस बंगला एयरको विमान दुर्घटनाप्रति प्रतिनिधिसभाद्धारा दुःख व्यक्त



काठमाडौं । प्रतिनिधिसभाले यूस बंगला एयरको विमान दुर्घटनामा परी ठूलो मानवीय क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको पहिलो बैठकले बंगला एयरको विमान दुर्घटनामा परी ठूलो मानवीय क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो । बैठकमा सभामुख कृष्णबहादुर महराले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समदेवना व्यक्त गर्न राख्नु भएको विशेष प्रस्ताव पारित गरिएको छ । प्रतिनिधिसभाले घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

बैठकमा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति एक मिनेट मौनधारण समेत गरिएको थियो । गत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा यूएस बंगला एयर विमान दुर्घटनामा परी २२ जना नेपाली, चालक दलका सदस्यसहित २८ जना बंगलादेशी र १ जना चिनिया गरी ५१ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा घाइते भएका २० जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । प्रतिनिधि सभा बैठकले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्