नर्भ एजेन्ट प्रकरण, रुसविरुद्ध कडा कदम चाल्न राष्ट्र संघमा अमेरिकी दबाब



न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत निकी हेलीले बेलायतसँग ऐक्यबद्धता देखाउँदै रुसी कूटनीतिज्ञ निष्कासन गर्ने बेलायती सरकारको निर्णयको समर्थन गरेकी छिन्।

उनले यदि कडा कदम नचाल्ने हो भने रुसले न्युयोर्क वा संयुक्त राष्ट्र संघका सदस्य देशका शहरहरूमा रासायनिक हमला गर्न सक्नेसमेत चेतावनी दिएकी छिन्।

हेलीले डोनाल्ड ट्रम्प प्रशासन गत हप्ता रुसका पूर्व जासुस तथा उनकी छोरीमाथि भएको नर्भ एजेन्ट आक्रमणपछि बेलायतको पक्षमा उभिएको बताइन्।

उनले पूर्व जासुसमाथि भएको घातक विषादी आक्रमणमा रुसको हात रहेको बेलायतको आकलसँग अमेरिका सहमत रहेको बताइन्। प्रतिबन्धित रसायनको प्रयोग गरेको मामिलामा बसेको राष्ट्र संघ सुरक्षा परिषद्को बैठकमा हेलीले अन्तर्राष्ट्रियस्तरमा कडा कदम उठाउनुपर्ने माग गरेकी छिन्। सुरक्षा परिषद्को उक्त आपत्कालीन बैठकमा हेलीले भनिन्– ‘बेलायतमा दुई व्यक्तिमाथि सैन्यस्तरको नर्भ एजेन्टको प्रयोग भएको हमलामा रुसको हात रहेको छ भन्ने कुरामा अमेरिकालाई विश्वास छ।’

‘रुसले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको छ।’ –उनले भनिन्। ‘यदि उक्त समस्याको समाधानका लागि प्रभावकारी कदम नउठाएमा रासायनिक हतियार प्रयोग भएको सास्लिबरी अन्तिम स्थान हुने छैन। उसले न्युयोर्क वा संयुक्त राष्ट्रको कुनै पनि सदस्य देशको शहरमा यसको प्रयोग गर्न सक्छ।’ –हेलीले बताइन्।

केही दिनअगाडि रुसका पूर्व जासुस सर्गेइ स्क्रिप्ली र उनकी छोरी युलियामाथि बेलायतको साल्सिबरीमा नर्भ एजेन्ट प्रयोग गरी मार्ने प्रयास भएको थियो। यद्यपि रुसले ती आरोपलाई मनगढन्ते कहानी भएको बताउँदै त्यसलाई अस्वीकार गरेको थियो। उक्त घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ।
तर बेलायतले हमलामा रुसकै हात रहेको दाबी गरेको छ र त्यसको प्रतिक्रिया स्वरूप बुधबार बेलायतले २३ रुसी कूटनीतिज्ञलाई निष्कासन गरेको घोषणा गरेको छ। बेलायतकी प्रधानमन्त्री टेरिजा मेले ती कूटनीतिज्ञहरू अघोषित जासुस भएको बताएकी छिन्।

निष्कासित रुसी कूटनीतिज्ञलाई देश छोड्न एक हप्ताको समय दिइएको छ। त्यसैगरी रुसमा यसै वर्षको अन्त्यमा हुने विश्वकप फुटबलमा कुनै शाही परिवार सदस्य सहभागी नहुने पनि बताएकी छिन्। प्रधानमन्त्री मेले रुसी विदेशमन्त्रीद्वारा फिफा विश्वकपका लागि पठाएको निमन्त्रणलाई अस्वीकार गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्