इरानले परमाणु हतियार बनाए साउदीले पनि बनाउँछः युवराज



रियाद, (एजेन्सी)
साउदी अरेबियाका युवराजले आफ्नो देशले पनि परमाणु हतियार बनाउने बताएका छन्। युवराज मोहम्मद बिन सलमानले एक अन्तर्वार्तामा इरानले परमाणु बम विकास गर्छ भने साउदी अरेबियाले पनि त्यस्तै गर्ने बताएका थिए।

सीबीसी टेलिभिजन च्यानलमा आइतबार प्रसारण हुने भनिएको उक्त अन्तर्वार्तामा राजकुमार मोहम्मद बिन सलमानले भने– ‘साउदी अरेबिया कसैसँग परमाणु बम होस् भन्ने चाहँदैन तर यसमा कुनै शंका छैन, यदि इरान त्यस्तो गर्छ भने हामीले पनि छिटोभन्दा छिटो त्यस्तै गर्नु पर्नेछ।’

अमेरिका, दक्षिण कोरिया, रुस, फ्रान्स र चीनले साउदी अरेबियाको पहिलो दुई आणविक भट्टी निर्माण गर्ने अर्बौं डलरको टेन्डरमा रुचि लिइरहेका छन्। विश्वको सबैभन्दा ठूलो तेल निर्यातकले यसअघि पनि ऊ शान्तिपूर्ण कार्यका लागि परमाणु प्रविधि विकास गर्न चाहेको इच्छा व्यक्त गर्दै आएका थिए। तर यसको प्रयोग परमाणु बम बनाउनमा पनि प्रयोग गर्न सक्छ।

सरकारले मंगलबार देशमा परमाणु ऊर्जा परियोजनाका लागि राष्ट्रिय नीतिलाई स्वीकृति दिएको छ। यसमा सबै परमाणु गतिविधिलाई शान्तिपूर्ण उद्देश्यका लािग प्रयोग गर्ने उल्लेख गरिएको छ। आणविक भट्टीलाई पाँच प्रतिशत शुद्ध युरेनियम समृद्धताको आवश्यकता हुन्छ।

इरानले पनि आफ्नौं परमाणु कार्यक्रमलाई गैरसैनिक प्रयोजनका लागि भएको बताउँदै आइरहेको छ। तर अमेरिका तथा पश्चिमी देशले इरानको उक्त भनाइलाई विश्वास गरेको छैन र लगातार ऊमाथि परमाणु कार्यक्रम रोक्न दबाब दिँदै आइरहेका थियो। जसको फलस्वरूप सन् २०१६ मा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरान र विश्वका ६ शक्ति राष्ट्रबीच परमाणु कार्यक्रम रोक्न सम्झौता भएको थियो। यसले इरानका परमाणु परियोजना केन्द्रहरूको निर्बाध निगरानी गर्न सक्ने र त्यसको बदलामा इरानमाथि लगाइँदै आएको नाकाबन्दी हटाउने व्यवस्था गरेको थियो।

अमेरिकालगायत पश्चिमी देशले इरानले परमाणु हतियार विकास गर्न आणविक कार्यक्रमलाई अगाडि बढाइरहेको आरोप लगाउँदै आइरहेको छ। यदि इरानले परमाणु हतियार विकास गर्न सफल भएमा मध्यपूर्व तथा अरब जगतमा शक्ति सन्तुलन बिग्रने र त्यहाँ तेहरानको जगजगी हुन सक्नेमा उनीहरू चिन्तित छन्।

प्रतिक्रिया दिनुहोस्