दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी



नेपाल समाचारपत्र
काठमाडौं
अघिल्ला खेलमा बलिङमा मात्रै ब्रेक थु्र गरेका दीपेन्द्र सिंह ऐरीले पहिलो पटक सानदार खेल प्रदर्शन गर्दा नेपालको त्यति नै सानदार जित संभव भएको छ ।

पहिले बलिङमा घातक बनेका दीपेन्द्रले ब्याटलाई पनि ब्यस्त बनाएपछि नेपालले आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफमा पपुआ न्युगिनी (पीएनजी) लाई ६ विकेटले माथ खुवायो । पीएनजीले छाडेको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर २३ ओभरमै प्राप्त गरेको थियो । नेपालको जितमा दीपेन्द्रले नटआउट हुँदै अर्धसतक प्रहार गरे । उनले ५८ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ५० रन बनाएका थिए । उनी पारस खड्कापछि यस प्रतियोगितामा ५० रन पुरा गर्ने दोस्रो नेपाली ब्याटसम्यान हुन् । पारसले समूह चरणमा दुई अर्धसतक प्रहार गरेका थिए ।

यस्तै आरिफ शेखले २६ रन र पारसले २० रनको योगदान दिएका थिए । तर यसपटक पनि प्रारम्भिक ब्याटसम्यान जम्न सकेनन् । ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले ९ रन मात्रै जोड्दा जोडी टुटियो । ज्ञानेन्द्र १ रन बनाएर नाआको बलिङमा आउट भएका थिए । जारी प्रतियोगितामा ज्ञानेन्द्रको ब्याटिङ त्यति चल्न सकेन । अघिल्ला खेलदेखि दिलीप नाथको स्थानमा आएका अनिल पनि ९ रन बनाएर भनाओको बलमा पवेलियन फर्केका थिए । नेपालले प्रारम्भिक ब्याटसम्यानबाट अझै पनि राम्रो साथ पाउन सकिरहेको छैन ।

यसअघि नेपाली बलरले पीएनजीका खेलाडीलाई चलमलाउन दिएनन् । पीएनजीले २७ दशमलव २ ओभरमा १ सय१४ रन बनाउन सबै विकेट गुमाएको थियो । कोही पनि ब्याटसम्यानले नेपाली बलरको सामना गर्न सकेनन् । नेपालको तर्फबाट सन्दीप लामिछानेले ८ ओभरमा २९ रन दिएर ४ विकेट लिए । तर म्यान अफ द म्याच दीपेन्द्रले त्यति नै विकेट लिन ४ दशमलव २ ओभरमा १४ रन खर्चेका थिए । त्यस्तै सोमपाल कामी र करण केसीले १–१ विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्