नारायणले ल्याए माया–प्रेम



पुराना गायक नारायण धितालद्वारा स्वरबद्ध गीतहरूको अडियो गीति एल्बम जय माया–प्रेम बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

एल्बम अभिनेता नीर शाह र गायक धिताल, संगीतकार चन्दन श्रेष्ठले सार्वजनिक गरेका थिए। ४ गीत समावेश एल्बममा अर्जुन रत्न भिकारीको शब्द र चेतन सापकोटाको संगीत रहेको छ। दाउरा उपहार, जरुवाको पानी साहै्र मीठो, बिहे गरी लाने हो र चिसो चिसो मन्द मन्द बतास बोलको गीत संगृहित एल्बमका ३ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। यी म्युजिक भिडियोमा निकेश खड्का, तेन्जु योञ्जन र युवराज वाइबाको निर्देशन रहेको छ भने प्रियंका कार्की, बेनिशा हमाल, सुष्मा अधिकारी, सोनु घर्तीसँगै नारायण, अर्जुन र चेतनले पनि अभिनय गरेका छन्। यी ३ गीतको छायांकन हिमाली भेगको मनोरम दृश्यमा गरिएको छ। सबै गीतको म्युजिक भिडियो सुदीप बरालले छायांकन गरेका छन्।

‘पहिलो एल्बम धड्कन र काइट्स ल्याएपछि अहिले जय माया–प्रेम लिएर आएको छु। गीत गाउने रहर सानैदेखि नै हो, तर विदेश बसाइ भएकाले यसलाई निरन्तरता दिन सकेको थिइनँ’, बेल्जियमबासी गायक नारायण धितालले कार्यक्रममा भने– ‘अब वर्षमा एउटा गीत लिएर दर्शक तथा स्रोता माझ आउने कोशिस गर्नेछु।’ गीतकार अर्जुनले एल्बममा रमाइलो, स्याड र प्रेमगीत रहेको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्