पराजुलीको राजीनामा, जोशीद्वारा पदबहाली



????????????????????????????????????

 

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहीबार पदबाट राजीनामा दिनुभएको छ। उमेरसम्बन्धी विवादमा पर्नुभएका पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो।

न्यायपरिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुली २०७४ साउन २१ गते नै अवकाश भएको बेहोरासहितको पत्र बुधबार सार्वजनिक गरेको थियो। राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधानबमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि पद रिक्त भएको बताउनुभयो।

उहाँको राजीनामासँगै वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बिहीबारदेखि नै कायममुकायम प्रधानन्यायाधीशका रूपमा पदबहाली गर्नुभएको छ। उहाँले बिहीबार नै सबै न्यायाधीशको पेसीसमेत तोक्नुभयो। पदबहाली गरेसँगै पत्रकारसँग आफ्नै कार्यकक्षमा कुरा गर्दै कायममुकायम प्रधानन्यायाधीश जोशीले न्यायपालिकालाई निष्पक्ष बनाउन आफू लागिपर्ने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘न्यायालय सुधार्ने काम हाम्रो हो। अरूलाई दोष लगाउनेभन्दा पहिले आफू सुध्रिनुपर्छ।’कायममुकायम प्रधानन्यायाधीश जोशीले न्यायालयप्रति जनआस्था बढाउन कटिबद्ध भएर लाग्ने बताउँदै सेवालाई निष्पक्ष बनाउन कसैसँग नझुक्ने जिकिर गर्नुभयो। संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बनाएमा जोशीले आगामी १९ महिना २४ दिनसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ। संविधानमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि उमेर हद ६५ वर्षसम्म छ।

विसं २०११ साल असोज २४ गते जन्मेका जोशीको उमेरहद ०७६ साल असोज २४ गते सकिनेछ। सर्वाेच्च अदालतकै अर्का न्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीश पराजुलीको उमेर हद सकिएकाले आफू उहाँले तोकेको इजलासमा नबस्ने बताएपछि यो विषयले चर्चा पाएको थियो। सोमबारदेखि इजलासमा नबस्नुभएका राणा आज भने बस्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्