उपराष्ट्रपति निर्वाचन तयारी शुरू



सुनील महर्जन, काठमाडौं
राष्ट्रपति निर्वाचनलगतै निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनअघि बढाएको छ। आउँदो चैत ९ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्न आयोगले कार्यतालिका सार्वजनिक गर्दै तयारी अघि बढाएको हो। आयोगले उपराष्ट्रपतिको निर्वाचन तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न तयारी शुरू गरिसकेको आयोगले जनाएको छ।

उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निवार्चित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायका व्यक्तिलाई उम्मेदवारका रूपमा मनोनयन गर्नुपर्ने व्यवस्था छ। त्यसले गर्दा आयोगले राष्ट्रपतिको निर्वाचन गराएको करिब दुई सातापछि उपराष्ट्रपतिको निर्वाचन गराउन लागेको हो। फागुन २९ गते भएको राष्ट्रपति निर्वाचनबाट नेपालको राष्ट्रपतिमा खस आर्य समुदायका महिला श्रीमती विद्यादेवी भण्डारी निवार्चित हुनुभएको थियो।

राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने कानूनी व्यवस्था छ। सोहीअनुरूप बुधबार मिति तोकेर तयारी थालिएको आयोगका प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

आयोगका अनुसार चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा मतदान हुनेछ। निर्वाचन कार्यतालिकाअनुसार, चैत १ गते मतदाता नामावली प्रकाशन, चैत ३ गते उम्मेदवारी दर्ता तथा चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन मुख्य अधिकृत कार्यालयले जनाएको छ।

उपराष्ट्रपतिको पदमा उम्मेदवार बन्न कुनै पनि तहको सांसद हुनु आवश्यक छैन। निर्वाचन आयोगको मतदाता नामावलीमा नाम भए पुग्छ। तर, प्रस्तावक र समर्थक पाँच⁄पाँचजना भने निर्वाचक मण्डलका सदस्य अर्थात् सांसदबाटै हुनुपर्ने व्यवस्था छ।

उपराष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा उल्लेख गरिएको छ। उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचक मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली प्रकाशन गर्नेछ।

संघीय संसद र प्रदेशसभा सदस्यका लागि छुट्टा–छुट्टै मतदान केन्द्रको व्यवस्था गर्ने आयोगले जनाएको छ। संविधानअनुसार संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुनबमोजिम फरक हुनेछ।

संघीय संसद्प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसद्को प्रत्येक सांसदको ४८ मतभार तोकिएको छ। संघीय संसद्मा राष्ट्रिय सभाका ५९ र प्रतिनिधिसभाका २ सय ७५ गरी ३ सय ३४ सदस्य रहेको छ। प्रदेशसभामा ५ सय ५० सदस्य रहेको छ।

उपराष्ट्रपतिमा हालका उपराष्ट्रपति नन्दबहादुर पुन नै दोहोरिने हुनुभएको छ। यस अघि यहां नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो। नेकपा एमाले र नेकपा माओवी केन्द्रबीच तालमेल नै रहेकाले दुई दलको नै स्पष्ट बहुमत रहेकाले अन्य दलले उम्मेदवाी दिने संभावना नरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्