क्रिकेटमा नेपाललाई उल्लेख्य सफलता



फिरोज राजोपाध्याय, काठमाडौं
नेपालले २२ वर्षको लामो क्रिकेट ‘करिअर’मा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ। सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपालका लागि यो ठूलो उपलब्धि बनेको छ। यसअघि सन् २०१४ मा विश्वकप टी–२० क्रिकेटमा नेपालले खेल्नु नेपाली क्रिकेटले पाएको ठूलो उपलब्धि थियो। नेपालले सन् २०१४ मै विश्वकप छनोटअन्तर्गत न्युजिल्यान्डमा एकदिवसीय मान्यता लिन कोसिस गरेको थियो। तर त्यसबेला कमजोर टोली भएकोले नेपाल नवौं स्थानमा रह्यो।

एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा जम्न ढोका पनि खोलिएको छ। नेपालका लागि चार वर्षसम्म अर्थात् सन् २०२२ सम्मको लागि डिभिजनको चक्करबाट पनि मुक्ति मिलेको छ। नेपालको एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपाली क्रिकेटलाई चारैतिरबाट लाभ पनि प्राप्त हुनेछ।

नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतिवर्ष लगभग ७ देखि ८ करोड नेपाली रुपियाँ छुटइउनेछ। यो बजेट रकमले नेपाली क्रिकेटको विकास गर्न अझ बल पुग्नेछ। नेपालले चाहेजस्तो टोलीसँग खेल्न पाउनेछ। यस्तै नेपालले विश्वस्तरीय प्रशिक्षकबाट समेत प्रशिक्षण लिन सक्नेछ। नेपालले कुनै पनि टेस्ट खेल्ने राष्ट्रलाई समेत नेपालमा निमन्त्रणा गर्न सक्नेछ।

यसैगरी नेपालले एसिया कपमा समेत खेल्न पाउनेछ। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशजस्ता सशक्त टोलीसँग खेल्न मौका मिल्नेछ। यसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय अनुभव बटुल्नसमेत अवसर हुन्छ। तर यसका लागि नेपाल क्रिकेट संघ (क्यान)को विवाद अहिले नै सुल्झाउनपर्ने हुन्छ। जानिफकारहरू भन्छन्– ‘अब नेपालले एकदिवसीय मान्यता पाइसकेपछि सम्बन्धित निकायहरू आफ्ना घमण्ड छाडेर मिल्नुपर्छ। नत्र यो उपलब्धि त्यतिकै खेर जान पनि सक्नेछ। यसैगरी नेपालले इन्टरकन्टिनेन्टल कप, विश्व क्रिकेट च्याम्पियनसिपमा पनि सहभागिता जनाउन सक्नेछ।’

नेपाल होडमा उत्कृष्ट
जिम्बावेमा भइरहेको आईसीसी विश्व कप क्रिकेट छनोटमा १० राष्ट्रले सहभागिता जनाएका छन्। चार राष्ट्र एकदिवसीय वरीयतामा पुछारमा रहेका वेस्ट इन्डिज, जिम्बावे, अफगानिस्तान र आयरल्यान्ड छन्। बाँकी ६ आईसीसीसँग भएका एसोसिएट राष्ट्रमा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), स्कटल्यान्ड, नेदरल्यान्डस्, पपुआ न्युगिनी (पीएनजी) र हङकङ हुन्। यसमध्ये एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नगरेका शीर्ष तीन टोलीले एकदिवसीय मान्यता प्राप्त गर्ने प्रावधान रहेको छ।

तर यूएई र स्कटल्यान्ड सुपर सिक्समा प्रवेश गरिएकाले यी दुई टोलीले एकदिवसीय मान्यता प्राप्त गरे। नेपाल समूहमा चौथो स्थानमा रहेर हङकङ र पीएनजीसँग एकदिवसीय मान्यता प्राप्त गर्न बाँकी रहेको एक स्थानका लागि होडमा रह्यो। जसमा नेपालले दुवै टोलीलाई पछारेर उत्कृष्ट बनेर एकदिवसीय मान्यता प्राप्त गर्न सफल भयो।

बिहीबार नेपालले पीएनजीसँग प्लेअफको खेलमा जित हात पार्नुका साथै एकदिवसीय मान्यता प्राप्त गर्ने प्रबल सम्भावना बनायो। यसपछि अर्को खेलमा नेपालले सोचेको नतिजा आएपछि नेपालको एकदिवसीय मान्यता पक्का भयो। सो खेलमा नेदरल्यान्डस्ले हङकङलाई हराएको थियो। नेपाल र नेदरल्यान्डस्ले भोलि सातौं स्थानका लागि प्लेअफ खेल्नेछन्। यो खेलको नतिजाले दुवै टोलीलाई कुनै प्रभाव पार्दैन। नेदरल्यान्डस्ले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उपाधि जितेकोले पहिल्यै एकदिवसीय मान्यता प्राप्त गरेको थियो। जबकि यो प्रतियोगितामा पुछारमा रहेर हङकङ र पीएनजी डिभिजन २ मा घटुवा भएका छन्।

प्रतिक्रिया दिनुहोस्