महान् वैज्ञानिक स्टेफन हकिङको निधन



लन्डन, (एजेन्सी)
जीवित आइन्स्टाइनको उपनाम पाएका विश्वका प्रख्यात खगोल तथा भौतिकशास्त्री वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि शरीरको कुनै पनि अंग नचल्ने एक प्रकारको पक्षघातका रोगी भएर पनि हकिङले कहिल्यै हार मानेनन्। उनले एक सामान्य मान्छेले गर्ने धेरैजसो साहसिक काम गरे र विज्ञानको क्षेत्रमा नयाँ खोजसहित अभूतपूर्व योगदान दिइरहे।


दशकौंदेखि ह्विलचियरमा रही प्राकृतिक रूपमा बाह्य जगत्सँग कुनै प्रकारको सञ्चार गर्न असक्षम भएर पनि उनले विमान यात्राबाट शून्य गुरुत्वाकर्षणको अनुभव लिने तथा स्काइडाइभिङजस्ता साहसिक अनुभव हासिल गरेका थिए।

२२ वर्षको उमेरमा उनलाई मोटर न्युरोन डिजिज नामक असाधारण रोग लागेको थियो। त्यतिबेला उनको विवाह जेनसँग भएको थियो। उनीहरूका दुई सन्तान भएका थिए।

हकिङले सन् १९९५ मा आफ्नै स्याहारमा लागेकी एक नर्स एलेन मेसनसँग विवाह गरेका थिए। ११ वर्षसम्म चलेको उक्त वैवाहिक जीवन पनि सम्बन्ध विच्छेदमा टुंगिएको थियो।

हकिङले आफ्नो जीवनमा सबैभन्दा बढी रहस्यमय ब्ल्याक होलको विषयमा नयाँ खोज गर्न मै व्यतीत गरेका थिए। यसबाहेक उनले सापेक्षता, बिग ब्याङ थ्योरीजस्ता जटिल विषयमा महत्त्वपूर्ण भूमिका निभाएका थिए।

हकिङको जन्म सन् १९४२ जनवरी ८ मा इंग्ल्यान्डको अक्सफोर्डमा भएको थियो। सन् १९५९ मा उनी नेचुरल साइन्सको पढाइ गर्न अक्फोर्ड पुगेका थिए। त्यसपछि उनले क्याम्ब्रिजमा उनले ब्ल्याक होलकै विषयमा विद्यावारिधि गरेका थिए।
बेलायति वैज्ञानिकले विज्ञानसँग सम्बन्धित कयौं चर्चित किताब लेखेका छन्। जसमा ‘अ ब्रिफ हिस्टरी अफ टाइम’ सबैभन्दा चर्चित पुस्तक हो। उक्त पुस्तक लामो समयसम्म सर्वाधिक विक्री हुने किताबहरूको सूचीमा पर्दै आएको छ।

दुई विवाहबाट उनी तीन सन्तानका पिता बने। उनको दुवै विवाह सम्बन्ध विच्छेदमा टुंगिएको थियो। उनका सन्तान लुसी, रोबर्ट र टिमले भने– ‘हाम्रा पिताको आज निधन भएको जानकारी दिनु पर्दा हामी अत्यन्त दुःखी भइरहेका छौं। उनी उत्कृष्ट वैज्ञानिकमात्र नभई एक असाधारण मानव थिए। उनले गरेका काम र योगदान आगामी कयौं वर्षसम्म जीवित रहनेछ।’

तीनैजनाले हकिङको ‘साहस र निरन्तरता’को प्रशंसा गरेका छन्। उनको ‘प्रतिभा र ठट्टा गर्ने स्वभाव’ले विश्वभरिका मान्छेलाई प्रेरित गरेको उनीहरूले बताए। उनले एकपटक भनेका थिए– ‘जसले तिमीलाई प्रेम गर्छ, यदि ऊ रहेन भने यो विश्वको कुनै अर्थ हुँदैन।’ हामी उनलाई सधैं स्मरण गरिरहनेछौं।

ब्रह्माण्ड बुझ्नमा भूमिका निभाए
सधैं ह्विल चियरमा बसिरहने हकिङ कुनै आम मान्छेभन्दा फरक देखिन्थे। उनले गत वर्ष पृथ्वीको आयु १ हजार वर्षमात्र भएको र यो अवधिमा मानवले आफ्नो अस्तित्व जोगाउन बाह्य ग्रहको खोजी गर्नुपर्ने बताएका थिए। उनले केही समयअगाडि मानव विनाशको कारण आर्टिफिसिल इन्टेलिजेन्स हुन सक्नेमा पनि सचेत गराएका थिए।
विश्व प्रसिद्ध महान् वैज्ञानिक तथा उत्कृष्ट विक्रीमा परेको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’का लेखक स्टेफन हकिङले शारीरिक अक्षमतालाई पछाडि पार्दै, यदि इच्छाशक्ति भएमा मान्छेले जे पनि गर्न सक्ने प्रमाणित गरेका थिए।

आफ्नो खोजका बारेमा हकिङले भनेका थिए– ‘मलाई सबैभन्दा धेरै खुसी यो कुरामा छ कि, मैले ब्रह्माण्डलाई बुझ्न आफ्नो भूमिका निभाएँ। यसको रहस्य मानवका अगाडि खोलें। यसमा भइरहेको सोधमा आफ्नो योगदान दिन पाएँ। मानिसको भिड मैले गरेको काम जान्न चाहँदा मलाई गर्व हुन्छ।’

सन् २०१४ मा हकिङ फेसबुकमा पहिलो पटक आएका थिए। त्यतिबेला उनले आफ्नो पोस्टमा आफ्ना प्रशंसकलाई ‘जिज्ञासु बन्न सुझाव दिएका थिए।

हकिङले आफ्नो पोस्टमा लेखेका थिए– ‘म सधैं नै सृष्टिको रचनालाई लिएर हैरान हुने गरेको छु। समय र अन्तरिक्ष सधैंका लागि रहस्य बनिरहन सक्छ। तर यसमा मेरो प्रयास रोकेको छैन।’

ईश्वरको अस्तित्व अस्वीकार
हकिङले विज्ञानको दृष्टिकोणबाटै भगवान्, पृथ्वीमा मानवको अन्त्य र बाह्य ग्रहको जीव अर्थात् एलियनको अस्तित्वका विषयमा क्रान्तिकारी विचार राखेर गए। उनका ती विचारलाई लिएर धार्मिक संस्थाका तर्फबाट विरोधको सामना पनि गर्नुपर्यो।

स्टेफेन हकिङले आफ्नो किताब ‘द ग्य्रान्ड डिजाइन’मा ईश्वरको अस्तित्वलाई पुरै अस्वीकार गरेका छन्। उनले एउटा नयाँ ग्रहको खोजका बारेमा बताउँदै हाम्रो सौर्यमण्डलको विशेष समीकरण र ईश्वरको अस्तित्वमा प्रश्न उठाएका थिए।

सन् १९९२ मा एक ग्रहको खोज भएको थियो जुन हाम्रो सूर्यको स्थानमा कुनै अर्को सूर्यको परिक्रमा गरिरहेको थियो। हकिङले यसैलाई उदाहरणका रूपमा लिँदै भने– ‘यो खोजले हाम्रो सौर्यमण्डल खगोलीय संयोग भएको बताउँछ। एक सूर्य, पृथ्वी र सूर्यबीचको उचित दूरी र सौर्यपिण्डले पृथ्वीलाई यति सावधानीपूर्वक मानवलाई खुसी पार्न बनाइएको हो भन्ने मान्न पर्याप्त प्रमाण हुन सक्दैन।’ उनले सृष्टिको निर्माणका लागि गुरुत्वाकर्षणको नियमलाई श्रेय दिएका थिए। गुरुत्वाकर्षको नियमले ब्रह्माण्ड आफै शून्यबाट एकपटक पुनः शुरू हुन सक्छ र हुन्छ पनि।

यो अचानक हुने खगोलीय घटना हाम्रो अस्तित्वका लागि जिम्मेवार छ। यसमा ब्रह्माण्ड चलाउनका लागि ईश्वरको आवश्यक छैन।
हकिङको यो बयानलाई लिएर इसाई धर्म गुरुहरूका तर्फबाट कडा विरोध भएको थियो। हकिङले विश्वका अगाडि ब्रह्माण्डमा एलियनको अस्तित्वलाई लिएर पनि कडा चेतावनी दिएका थिए। हकिङले आफ्नो भाषण ‘लाइफ इन द युनिभर्स’मा भविष्यमा मान तथा एलियनबीच जम्काभेट हुन सक्ने विचार राखेका थिए।

प्रतिक्रिया दिनुहोस्