मित्र बढाउँदै शत्रु गते



आगामी चैत ९ गते अल नेपाल रिलिज हुन लागेको फिल्म शत्रु गतेले जिल्ला डुलेर मित्र बढाएको छ। शत्रु गतेका प्रमुख कलाकारमध्येका हरिवंश आचार्य, पल शाह, आँचल शर्मा, दीपाश्री निरौला, शिवहरि पौडेल, किरण केसी, गायिका जुनु काफ्लेलगायतले जिल्ला–जिल्ला पुगेर आ–आफ्नो प्रस्तुति प्रस्तुत गर्दै मित्र बढाएका हुन्।

मह शत्रु गते यात्रा २०७४ नाम दिई आयोजना गरेको फिल्मको प्रवद्र्धन कार्यक्रममा शत्रु गतेका कलाकारले विभिन्न मनोरञ्जक सामग्री प्रस्तुत गरी दर्शक लोभ्याएका थिए। गत फागुन २३ गते हेटौंडाबाट शुरु गरी बुटवल, पोखरा, विर्तामोड, दमक, नारायणगढ र इटहरीमा पुगेर बुधबार समापन गरिएको यो प्रवद्र्धन यात्रामा दर्शकले भरपुर मनोरञ्जन लिएका थिए। कलाकारको यो टोली जहाँ–जहाँ पुग्थ्यो, त्यहाँ–त्यहाँ दर्शकको ओइरो लाग्थ्यो।

यात्राअन्तर्गत हरिवंश आचार्यले हरिबहादुर दीपाश्री निरौलाले प्रहरी बनेर रमाइलो प्रहसन प्रस्तुत गर्दै शत्रु गतेका लागि दर्शक बढाएका थिए। हरेक स्थानको कार्यक्रममा पल शाह र आँचलले शत्रु गतेमै रहेको पिरतीको बर्को बोलको गीतमा नृत्य प्रस्तुत गरेर दर्शक लोभ्याएका थिए भने किरण केसी र शिवहरि पौडेलले हस्यौली प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिलाएका थिए। त्यसै गरी गायिका जुनु रिजाल काफ्लेले शत्रु गतेकै गीत गाई दर्शक नचाएकी थिइन्। सबै कलाकारको नाचगान दर्शकका लागि अर्को सौगात बन्न पुगेको थियो। फिल्मको रूपै मोहनी बोलको गीत अहिले लोकप्रियताको शिखरमा छ भने यसको ट्रेलरले पनि फिल्म दर्शकको पर्खाइको विषय बन्न पुगेको छ।

‘शत्रु गते टुर एकदमै रमाइलो भयो। हामीले सडक सडकमै शो गर्यौं, दर्शक पनि रमाउनुभयो’, शत्रु गतेको प्रमुख कलाकारमध्ये एक ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘आफ्नो घरमा कुनै ठूलो समारोह भयो भने आफन्तलाई फोनबाट वा भाइबरबाट निम्तो गरे पनि हुन्छ। तर, आफैं घर–घरमा गएर निम्तो गर्नुको प्रभाव बेग्लै हुन्छ। हामीले शत्रु गते हेर्नका लागि उहाँहरूलाई घर घरमै गएर निम्तो दिएका छौं। यसबाट शत्रु गतेको मित्र बढेका छन् भन्ने महसुस गरेका छौं’, आचार्यले थपे– ‘खुसीको कुरा हामीले उहाँहरूलाई शत्रु गते भनेर बुझाइरहनुपरेन। तर, दुःखको कुरा पश्चिममा जान समय पुगेन।’ उनको समूह बुधबार बर्दिवासमा बास बसी आज बिहीबार काठमाडौं फर्कंदै छ।

हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्म तथा टेलिफिल्म निर्माण कम्पनी मह सञ्चारले १७ वर्षपछि बनाएको फिल्म किरण केसीको प्रस्तुतिमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यशोदा श्रेष्ठ र रमिला आचार्यले निर्माण गरेका हुन्। कथा हरिवंश आचार्य, पटकथा दीपकराज गिरी र प्रदीप भट्टराई, संवाद हरिवंश आचार्य र प्रदीप भट्टराई, छायांकन दीर्घराज गुरुङ, सम्पादन मित्र डी गुरुङ, गीत अर्जुन भट्टराई र लोकराज अधिकारी, संगीत कालिप्रसाद बासकोटा र टंक बुढाथोकी, गायन कालिप्रासद बासकोटा, टंक बुढाथोकी र मीना निरौला, नृत्य कविराज गहतराज र प्रवीण सिंह, द्वन्द्व रोशन श्रेष्ठको रहेको फिल्म जात्राका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका छन्।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, वसुन्धरा भुसाल, नरेन्द्र कंसाकार, राजु भुजु, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, मोहित आचार्य, सुष्मा कार्की, अञ्जु महर्जन, रमेशरञ्जन झा, अनुराग कुँवरलगायतका कलाकार प्रमुख भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्