सामान्य लाग्ने अपराध र सतर्कताको खाँचो



दामोदर पौडेल

आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले विभिन्न अपराध र ती अपराधमा हुने सजायको सम्बन्धमा उल्लेख गरेको छ। हुन त हाल पनि अपराध र आपराधिक मनसायसमेतको बारेमा उल्लेख गरिएकोमा केही सामान्यजस्तो लाग्ने तर सजाय हुने समाजविरुद्धका कार्य भनेर कानुनले तोकेको पाइन्छ। ती कार्यहरू गरेमा अपराध मानिन्छ र सजाय पनि हुन्छ। केही त्यस्ता अपराध मानिएका कार्यहरू सबैले जानकारी लिन आवश्यक छ। कानुनले नगर्न भनेको काम गर्नु र कानुनले गर्न भनेको काम नगर्नु कानुन विपरीत हुन्छ र ती सजाय वा कानुनी दायित्वको दायरामा पर्दछन्। त्यसैले कानुनको जानकारी अपरिहार्य छ।

समाजमा झगडा हुने गर्दछन्। कहिलेकाहीँ कुनै अन्याय गर्ने र बेइमान गर्ने मानिसले समाजलाई नै र कुनै व्यक्तिलाई दुःख दिइरहेको हुन्छ। उसको व्यहार असैह्य हुन्छ। मानिसहरू र विशेषतः युवाहरू गलत गर्नेका विरुद्धमा जाइलाग्ने र उसलाई कुटपिट गर्ने गर्छन्। त्यस्ता घटनामा अंगभंग मात्रै नभएर मानिस नै मर्ने गरेको पनि पाइन्छ। यस्तो अवस्थामा पहिलो गल्ती गर्नेप्रति कानुनले सहानुभूति राखेको जस्तो देखिने हुनसक्छ। तर कुटपिट गरेर पछि अर्को गल्ती गर्नेहरू पनि कानुनको दायरामा आएर सजायको भागी हुन्छन्।

बारम्बार सुनिन्छन् कि चोरी गर्ने मानिसलाई युवाहरू वा जनताले पक्रेर कुटपिट गरे वा मर्ने अवस्था नै आयो आदि। यस्तो अवस्थामा गल्ती गर्नेको गल्ती प्रमाणित नहुने र उसको प्रतिकारमा लाग्नेलाई सजाय हुने अवस्था आउँछ। यस्तो कार्यलाई कानुन हातमा लिएको पनि भनिन्छ। कुनै पनि अन्यायलाई रोक्न वा सजाय गर्न कानुनको माध्यमबाट नै जानुपर्ने हुन्छ। यो तथ्यलाई सवैले हृदयंगम गर्न आवश्यक छ।

कानुनले जोखिमी हतियार लिएर हिँड्न नपाइने व्यवस्था गरेको छ। सरकारी कर्मचारी सरकारी काममा आएको समयमा उसलाई रोकावट गर्ने र उसलाई काम गर्न नदिनेजस्ता कार्य पनि गर्न हुँदैन। बाटो प्रयोग गर्न रोक लगाउने, कसैको सम्पत्ति कब्जामा लिने, पानी आदि प्रयोग गर्नबाट रोक्ने कार्यहरू पनि अपराध मानिन्छन्। यसलाई कसरी बुझ्न सकिन्छ भने, सार्वजनिक स्थानमा आफूले जे गर्न पाउने हो वा पाउनुपर्ने हो जस्तो लाग्छ त्यस्तो काम गर्नबाट अरूलाई रोक्नु कानुन विपरीत हुन जान्छ।

हुलदंगा गर्ने र सार्वजनिक वा निजी सम्पत्तिमा दखल पुग्ने कार्य पनि गर्न हुँदैन। विवाद छ भने विवादको विषयमा कार्य हुनुपर्दछ। एउटा विवादको रिस अर्काे ठाउँमा पोख्न पाइँदैन। प्रायजसो मानिस भावावेशमा आएर अस्पतालमा कसैले गल्ती गरेको आरोपमा वा त्यस्तै आधारमा कुनै कर्मचारीले कुनै अफिसमा गल्ती गरेमा भौतिक संरचना पनि निशानामा पर्ने गरेको छ। कहिलेकाहीँ गल्ती भए पनि कानुनको शरणमा जाऊ भन्ने र सम्झाउन जानेहरू पनि आक्रमणको सिकार बन्ने गरेका छन्। विशेषतः युवाहरूले परिणाम नबुझी भावावेशमा हुलदंगा गर्ने गरेका हुन्छन्।

उनीहरूको कुनै आफूले फाइदा दिने किसिमको गलत मनसाय पनि हुँदैन। तर भावावेशमा गरेका गल्तीले गर्दा उनीहरूलाई नै कानुनको कठघरामा उभिनुपर्ने हुन्छ र सजाय पनि हुन्छ। मुख्य दोषी ओझेलमा पर्न सक्छन्। त्यसकारण कसैले गल्ती गरेमा मारपिट गर्ने र संरचना तोडफोड गर्ने होइन, बरु तुरुन्तै गल्ती गर्नेलाई पक्रेर अर्थात् समातेर प्रहरी वा सम्बन्धित निकायमा पठाउने र उसले गल्ती गरेका प्रमाणहरू सुरक्षित राखेर उसलाई सजाय गराउने वा दिने निकायमा पठाउन आवश्यक हुन्छ।
कतिपयहरूमा अरूको धर्म, सम्प्रदाय, संकृति, भाषा आदिलाई होच्याउने बानी हुन्छ। निकट साथीहरूमा दोहोरो नै मजाक होला, त्यो अलग विषय हो। तर सामान्यतः अर्को जात, धर्म, वर्ग, क्षेत्र, भाषामाथि कुनै प्रकारले पनि अपमान गर्नुहुँदैन। यो कानुन विपरीत हो र सजाय हुने कार्य हो।

यस्ता कार्यहरू निजी वा सार्वजनिक स्थान कतै पनि गर्न कानुनले नै निषेध गरेको छ। मानिसले आफ्नो भाषा, धर्म आदि जति आफ्नो लागि राम्रो लाग्छ अरूको लागि पनि आफ्नो धर्म, भाषा आदि राम्रो लाग्छ भन्ने सोच्नुपर्दछ। तर कुनै धर्म, संस्कृति आदिको नाममा कानुन विपरीतको काम भएको छ भने त्यसको विरोध हुनुपर्दछ। त्यो विरोध गल्ती गर्नेले गरेको गल्तीको प्रमाण राख्ने र कानुनबमोजिम सजाय गराउनमा आधारित हुनुपर्दछ। हामीले सम्झनै पर्ने विषय के हो भने, कुनै पनि गलत वा आपराधिक कामको लागि सजायको व्यवस्था छ। त्यस्ता गलत कामहरू सजायको दायरामा आउँछन्।

कानुनमा विभिन्न हडताल आदिको नाममा सार्वजनिक स्थानमा अवरोध गर्न नपाइने व्यवस्था छ। बाटो वा अन्य सार्वजनिक स्थानमा नियमितरूपमा हुने काम रोक्न पाइँदैन। यो कार्य गर्ने व्यक्ति सजायको भागी हुन सक्ने कानुनी व्यवस्था छ। यद्यपि यो व्यवस्था कतिपय अवस्थामा परिपालना भएको पाइँदैन। शान्ति कायम गर्न गल्ती गर्नेहरूले पनि छुट पाउने गरेको देखिन्छ। यो राज्यको अनुसन्धान, अनुगमन निकायहरू कमजोर भएकाले पनि भएको हो।

सार्वजनिक वा निजी कुनै वस्तु पनि बिगार्न वा चोरी गर्न हुँदैन भन्ने त सबैलाई जानकारी भएकै विषय हो। तर कहिलेकाहीँ सार्वजनिक सम्पत्तिलाई मानिसले जथाभावी गर्ने र बिगार्न पनि शंकोच नमान्ने गरेको पाइन्छ। त्यस्तै त्यस्ता सामानहरू चोरीका हुन् भन्ने अनुमान र जानकारी हुँदा पनि कतिपयले सस्तोमा पाएकाले किन्ने गरेको पाइन्छ। यस्तो कार्य पनि कानुनले पूर्णरूपामा निषेध गरेको हुन्छ। निषेधित कार्य सजायको दायरामा आउँछ।

हामीमध्ये धेरैलाई जानकारी नभएको विषय भनेको सरकारी कागजहरू सरकारी कर्मचारीले बुझाउन ल्याएमा नबुझ्ने तथा बुझाउन असहयोग गर्नेजस्ता कार्यहरू गर्नहुँदैन। कर्मचारीलाई गलत सूचना र जानकारी पनि दिन हुँदैन। कर्मचारीले पनि बुझाउने कागज गलत किसिमले बुझाउनहुँदैन। त्यस्तै सपथ गर्ने दायित्व भएकाले सपथ लिन्न भन्न पाइँदैन। अर्कोतर्फ कुनै सरकारी निकायमा कुनै तथ्य वा विषयका बारेमा जानकारी दिनुपर्ने भएमा जानाजान गलत प्रमाणित हुने किसिमको सूचनासमेत दिनुहुँदैन। यी सबै कार्यहरू दण्डनीय छन्।

आफ्नो फाइदाको लागि झुटा प्रमाण बनाउने गरेका तथा झुटा प्रमाणपत्रहरू दिने, बनाउने तथा ती पेस गर्ने गरेको पनि पाइन्छ। त्यस्तै सरकारी कागज वा प्रमाणहरू मास्न, नास्न, बिगार्न हुँदैन। यी कार्यहरू गरेमा सजाय हुन्छ। विशेषतः युवाहरूले विभिन्न कामको लागि प्रमाणपत्र लिने गर्दछन्। विदेशबाट शैक्षिक प्रमाणपत्र पनि लिने गरिन्छ। त्यस्तो अवस्थामा प्राप्त प्रमाणहरू झुटा वा गलत देखिएमा सजाय हुने हुँदा इमानदारहरूले पनि दुःख पाउनुपर्ने हुन सक्छ। त्यसकारण कुनै पनि प्रमाणपत्र लिँदा त्यसको वैधानिकता छ वा छैन अर्थात् प्रमाणपत्र दिनेले प्रमाणपत्र दिने कानुनी अधिकार पाएको छ⁄छैन भन्ने बुझ्नुपर्ने हुन्छ।

अन्यथा त्यो सजायको कठघरामा आउँछ। एकजना गाडी राम्रोसँग चलाउन जान्ने चालक रहेछन्। उनले प्रमाणपत्र पनि लिएको करिब १० वर्ष जति भएको रहेछ। गाडी दुर्घटना भएकोमा प्रमाणपत्र मगाउँदा उनको प्रमाणपत्र नक्कली देखियो। उनी मैले पास गरेर नै प्रमाणपत्र लिएको भन्छन्। लाइसन्स दिने कार्यालयको बाहिर बस्नेले सबै काम हामीले नै गरिदिने हो भनेर पैसा लिई काम गराएको पनि भन्छन्। त्यो काम गर्ने मानिस पनि लामो समय भएकोले चिन्दिनँ भन्छन्। यस अवस्थामा उनले एकातिर लाइसन्स जाली भएकाले सजाय पाउने भए र अर्कोतर्फ लाइसेन्स नै नभएको मानिसले गाडी चलाएको देखिएकोले धेरै सजाय हुने भयो। जबकि उनी गाडी चलाउन दक्ष छन्। यसरी कहिलेकाहीँ ध्यान नदिँदा इमानदारी हुँदाहुँदै पनि कानुनको नजरमा आफ्नै ध्यान नपुग्दा अपराधी बन्न पुगिन्छ। नागरिकले यस्ता विषयमा पनि ध्यान दिन आवश्यक हुन्छ।

कानुनको यो सामान्य जानकारी सबै नागरिकले पाउन आवश्यक छ। विशेषतः जानकारी नभएकाले गलत ठहरिने कार्यबाट बच्न केही ध्यान दिनै पर्दछ र अपराध जुन कारण वा किसिमले भएको भए पनि त्यो अपराध नै हुन्छ। र, सजाय गर्ने वा गराउने पक्षको जानकारीमा आएमा सजाय हुन्छ।
(लेखक पौडेल अधिवक्ता हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्