सुख्खा याममा आगलागीको भय



हरेक वर्ष गर्मी महिना शुरू भएसँगै आगलागीका घटनाको कारण ठूलो जनधनको क्षति हुने गरेको छ । आगलागी न्यूनीकरणका लागि बेलैमा सचेतना नअपनाउँदा ठूलो घटनाको रूपमा देखिने गरेको छ ।

आगलागीका कारण निजी सम्पत्ति मात्र हैन, सार्वजनिक स्रोत–साधनको समेत नोक्सान हुने गरेको छ । आगलागीकै कारण प्राकृतिक स्रोतको रूपमा लिइने वनजंगल पनि सखाप हुने गरेको छ । विशेष गरी फागुनदेखि जेठसम्म हावाहुरीका साथै मौसमी तापक्रम बढ्ने भएकाले यो समयमा आगलागीका घटना धेरै हुने गरेको पाइन्छ ।

आगलागीका घटनामा क्षति बढ्नुमा समय–समयमा पानी नपर्नु, पानीका मुहान सुक्दै जानु, अव्यवस्थित बसोबास बढ्नु, आगलागीपछि तत्काल नियन्त्रणको लागि सक्रियता बढाउन नसक्नु, सीमित स्रोत–साधनको भरमा आगो नियन्त्रणको प्रयास गर्नुपर्ने बाध्यतजस्ता थुप्रै कारण छन् ।

विगतमा भएको आगलागीका घटनालाई केलाउने हो भने, धेरैजसो सानो मानवीय गल्तीका कारण आगलागी हुने गरेको पाइन्छ । गाउँघरमा खाना पकाइसकेपछि लापरबाही तरिकाले आगो छोडिदिने, गोठमा गाईवस्तुको सोतर सफा नगरी कुँडो पकाउने र आगोलाई त्यत्तिकै छोडिदिने, खेतबारीमा झाडी सफा गर्ने नाममा जथाभावी आगो बाल्ने, राम्ररी घाँस पलाउँछ भनेर कान्लामा आगो लगाउने, अरिङ्गाल पोल्नेजस्ता कार्य गर्दा आगो फैलिएर अनियन्त्रित भएको पाइन्छ । पछिल्लो समय विद्युत् प्राधिकरणले विद्युत्को पोल तथा लाइनको नियमित मर्मतसम्भार नगर्दा पनि कतिपय ठाउँमा विद्युत् सर्ट भई आगलागीका घटना भएको पाइन्छ ।

शहरी क्षेत्रमा भने खाना पकाउने ग्यास एवम् विद्युत् लाइनका कारण धेरैजसो आगलागीका घटना भएको पाइन्छ । साथै बाक्लो बस्तीमा अव्यवस्थित फर्निचर उद्योगहरू सञ्चालन हुँदा पनि आगलागीका घटनामा धेरै नोक्सानी भएको पाइन्छ । साँगुरो बाटो, बाक्लो बस्ती, समयमा अग्निनियन्त्रक यन्त्र पुर्याउन नसक्नुको कारणले पनि शहरी क्षेत्रमा आगलागीले बढी क्षति पुर्याएको देखिन्छ । अर्को कुरा, आगो नियन्त्रणका लागि पानीको समस्या प्रमुखरूपमा गाउँ–शहर जताततै रहेको छ । धेरैजसो आगलागीका घटना सानो मानवीय गल्तीका कारण हुने भए पनि आमनागरिक सचेत हुन सकेका छैनन् । वर्षायाममा बाढी–पहिरोले क्षति पुर्याइसकेपछि बाढी–पहिरो न्यूनीकरण गर्ने उपाय अपनाउने गरेजस्तै आगलागीका घटनामा पनि पहिले न्यूनीकरणको उपय नअपनाई घटना भैसकेपछि मात्र समाधान खोज्ने चलन छ । अतः घटना घट्नुअघि नै सचेतना अपनाई आगलागीका घटनाबाट बर्सेनि हुने ठूलो जनधनको क्षति न्यूनीकरण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्