मनाङको सहज जितसँगै सेमिफाइनलमा



यमलाल भुसाल, बुटवल

बुटवलमा जारी २०औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताअन्र्तगत मंगलबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीले सहज जित हासिल गरी सेमिफाइनलको यात्रा तय गरेको छ।

देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा मनाङले त्रिभुवन आर्मी क्लबको दोस्रो टोलीलाई ३–० गोलअन्तरले हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। सोमबार मात्रै झापा गोल्ड कप जितेको टोली बुटवलमा आउन सम्भव नभएपछि आर्मीको अर्को टोलीले खेलेको थियो। त्यसो त आर्मीले पाँचौं, १९औं र ३५औं र ४४औं मिनेटमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनुपर्यो।

१० नम्बर जर्सीका डोना थापाले ३५औं र ६७ मिनेटमा पहेलो कार्ड पाएसंगै रातो कार्ड पाएर बाहिरिँदा मनाङले १० जना खेलाडीले खेले पनि जित दर्ता गर्न सफल भयो। पहिलो कार्ड पाएर खेलेका थापाले आर्मी खेलाडीलाई मुक्का हाने पछि रेफ्रिले रातो कार्ड दिएका थिए।

मनाङलाई जित दिलाउन विशाल राईले ४१औं र ८३औं मिनेटमा गोल गरे भने इन्जुरी समयमा विदेशी खेलाडी भिक्टरले गोल गरेका थिए। राईले पहिलो गोल डोना थापाको कर्नरमा गरे भने दोस्रो गोल एकल प्रयासमा भएको थियो। उनले म्यान अफ द म्याच घोषित हुँदै ११ हजार नगद पुरस्कार पनि हासिल गरे। मनाङले चैत्र १ गते रुस्लान थ्रिस्टारसँग सेमिफाइनलमा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्