दुर्लभ दलको शैली



अन्ततः उनै भण्डारी फेरि दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भइन्। ठूलो मतान्तरले उनले कांग्रेस उम्मेदवार लक्ष्मी राईलाई पराजित गरेपछि दोस्रो कार्यकाल सुनिश्चित बनेको हो। यसअघि नै भण्डारी निर्वाचित हुने निश्चित भएकाले कतिपयले राष्ट्रपति निर्वाचनलाई औपचारिकता मात्रै पनि भने।

एमाले र एमाले समर्थक अन्य पार्टीका मतदाताले ‘ओलीवाद’ को खुलेर समर्थन गरेपछि कांग्रेसका ‘बबुरा नेता’ हरू पनि के नै पो गर्न सक्थे र ? भित्रभित्रै मुर्मुरिएका एमाले कम्रेडहरूले ओलीवाद ढाकछोप गरिराख्या बेला औपचारिकताका लागि मात्रै भए पनि लक्ष्मीलाई उम्मेदवार खडा गरेर ‘बहादुरी’ देखाए।

राष्ट्रपति चुन्ने क्रममा झनै पृथक् किसिमको बहादुरी देखाउनेहरू पनि देखिए। नयाँ शक्ति र विवेकशील साझाका मतदाताले निर्वाचन बहिष्कार गरेछन्। उहिले उहिले यी दलहरू जस्तै दुर्लभ अवस्थामा रहेकाहरूले यस्तै गरेको धरहराले देखेकै हो। तर यो शैली पनि गज्जबै हो है। संसद्मा सानो र दुर्लभ दल भएर के भो त, चिन्ने चिनाउने र चर्चामा आउने यही त हो नि नयाँ उपाय हैन त ?

कि त विगतमा कसैकसैले संसद्मा कुर्ची तोडेझैं तोड्नुपर्यो, माइक फोड्नुपर्यो, कि त झ्यालबाट कुर्ची फ्याँक्नुपर्यो। यसपटक यी दुर्लभ दलहरूबाट नयाँ कुनै शैली पो देखिने हो कि !

प्रतिक्रिया दिनुहोस्