असान्दर्भिक मेला महोत्सवलाई स्वीकृति दिन नहुनेमा जोड



काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघले व्यापार व्यवसाय प्रवद्र्धन गर्ने बाहेकका असान्दर्भिक मेला महोत्सवलाई सरकारले स्वीकृत दिन नहुने धारणा राखेको छ। देशका विभिन्न भागमा सामाजिक कार्य गर्न गठित एउटा सानो क्लबले समेत व्यापार मेला आयोजना गर्न थालेपछि उद्योग वाणिज्य महासंघले यस्तो धारणा राखेको हो।
उद्योग, व्यापार, पर्यटन, उत्पादन लगायतको खास क्षेत्रसंँग सम्बन्धित निकाय बाहेकले व्यापार मेला, महोत्सव गर्दा मुख्य उदेश्य पूरा नहुने भन्दै महासंघकी अध्यक्ष भवानी राणा भन्नुहुन्छ–‘जुन क्षेत्रको व्यवसायी हो त्यसैले यस्तो व्यापार मेला आयोजना गर्दा लाभ लिन सकिन्छ।’ ‘पर्यटन व्यवसायीले पर्यटन मेला, कृषि व्यवसायीले कृषि मेला, होटल व्यवसायीले होटल मेला, पुस्तक व्यवसायीले पुस्तक मेला गर्नु ठिकै हो।’ अध्यक्ष राणा भन्नुहुन्छ–‘जुन क्षेत्रको हो त्यसैलाई व्यापार मेला तथा महोत्सव गर्न दिँदा प्रभावकारी हुन्छ।’
वस्तुगत संघले औद्योगिक व्यापार महोत्सव गर्दा विशेषज्ञता पनि आउने भएकाले कुनै उत्पादन तथा व्यवसायको खरिद बिक्री र सेवाग्राहीसंँग प्रत्यक्ष अन्तत्र्रिmया तथा बैठक हुने भए पनि सस्तो लोकप्रियताको लागि असम्बन्धित निकायले गर्ने मेला महोत्सवले विकृति फैलने गरेको पनि पाइन्छ।
विशुद्ध सामाजिक कार्यका लागि मात्र स्थापना भएका संस्थाले व्यापार महोत्सव गरिरहेको र स्थानीय प्रशासनले पनि उनीहरूलाई रोक्न कुनै पहल नगरेपछि महासंघले व्यापार मेला महोत्सव गर्न क्राइटएरिया नै बनाउनु पर्नेमा जोड दिन थालेको छ। जथाभावी हुने व्यापार महोत्सवको बारे ठाउँ–ठाउँमा विवाद पनि जारी छ। यस प्रकारको महोत्सवको पहिलोपटक खुलेर विरोध गर्नेमा महासंघका केन्द्रीय सदस्य तथा मेला महोत्सव समितिका सल्लाहकार राजकुमार न्यौपाने पनि हुन्।
हेटौंडामा केही महिना अघि औद्योगिक शान्ति नेपाल नामक संस्थाले १७ लाख रुपियाँमा महोत्सवको ठेक्का लिएको थियो। त्यस बेला व्यापार महोत्सव स्थगित गर्न त्यहाका व्यापारीहरूले माग गरेका थिए। कपडा तथा तयारी पोसाक व्यवसायी संघ मकवानपुरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रनै पेश गर्दै मेला स्थगनको माग गरेको थियो।
‘विरोधका बाबजुद के कति कारणले मेला सञ्चालनको स्वीकृति दिइएको हो, थाहा भएन।’ महासंघका मेला महोत्सव समितिका सल्लाहकार न्यौपाने भन्नुहुन्छ–‘सम्बन्धित निकाय बाहेकलाई यसरी मेला महोत्सव गर्न दिँदा स्थानीय व्यापार व्यवसाय प्रवद्र्धन नभई धराशयी बन्दै जानेछ।’

प्रतिक्रिया दिनुहोस्