शेयर किनबेच हुनै छोड्यो



नेपाल समाचारपत्र
काठमाडौं
लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य ४ दशमलव ८९ अंकले बढेको भए पनि कारोबार रकम भने अत्यान्तै न्यून हुन पुगेको छ। कुल १५६ कम्पनीको ४ लाख ३३ हजार २४३ कित्ता शेयर २३ करोड ७० लाख रुपियाँमा शेयर किनबेच भएको छ।

विगतमा नेप्से सामान्य रहेको स्थितिमा २ अर्बको हाराहारीमा कारोबार हुने गरेको थियो। तर, नेप्से निरन्तर घट्न थालेपछि कारोबार रकममा पनि गिरावट आउन थालेको छ। लगानीकर्ताले घाटामा कारोबार गर्नुको साटो शेयर होल्ड गरेर राखेको स्थितिमा आफू सुरक्षित हुन सकिने विश्लेष्णका आधारमा कारोबार नगरेको सरोकारवाहरूको भनाइ छ।

ऋणमा लगानी गर्ने बाहेकका लगानीकर्ताहरू संयमित भएर बस्न सुझाव आइरहेका बेला लगानीकर्ताहरू कारोबारमा उत्रिएका छैनन्। बैंकको ब्याज दर तथा तरलता समस्याका कारण पुँजी बजार ओरालो लाग्दै लाएको छ। मंगलबार बजार शून्य दशमलव ३८ प्रतिशतले वृद्धि हुँदा नेप्से १२८१ दशमलव ९० विन्दूमा पुगेको छ।

यस दिन ९ वटा समूहको कारोबार भएकामा ६ वटा समूहका सूचक वृद्धि भएका छन् भने बाँकी ३ वटा समूहमा आरालो लागेका छन्। यस दिन बैंक समूह ५ दशमलव ७१, होटल समूह ६१ दशमलव ५४, विकास बैंक समूह १ दशमलव ४५, जलाविद्युत् ९ दशमलव ३९, फाइनान्स समूह ३ दशमलव १९ र अन्य समूह ७ दशमलव १२ अंकले बढेका छन्। त्यस्तै बीमा समूह १० दशमलव ६८, उत्पादनमुलक समूह ३२ दशमलव ६५ र लघुवित्त ४ दशमलव २९ अंकले घटेको छ।सामान्य बढेको बजारमा श्रीइन्भेस्टमेन्ट फाइनान्स कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ७ दशमलव १४ प्रतिशतले बढेको छ भने अरूण फाइनान्सको सबैभन्दा धेरै ४ दशमलव ८२ प्रतिशतले घटेको छ।

त्यस्तै कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले अग्रता लिएको छ। कम्पनीको २ करोड २१ लाख रुपियाँभन्दा धेरैको शेयर कारोबार भएको छ। कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र युनिलिभर नेपाल परेका छन्।

प्रतिक्रिया दिनुहोस्