मेलम्चीमा संगीत महोत्सव



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सिन्धुपाल्चोकको मेलम्चीमा सांस्कृतिक बहस र विविध सांस्कृति प्रस्तुतिसहित संगीत महोत्सव २०७४ आयोजना गरेको छ। मेलम्ची नगरपालिकाद्वयको सहकार्यमा भएको महोत्सवअन्तर्गत सिन्धुपाल्चोकको सांस्कृतिक अवस्थाका विषयमा स्थानीय संस्कृतिकर्मी डम्बर रसिक भारतीले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्रमाथि कवि तथा साहित्यकार चन्द्रप्रसाद न्यौपानेले टिप्पणी गरेका थिए।

महोत्सवको दोस्रो दिन सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि सांसद शेरबहादुर तामाङ, प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटा, जिल्ला समन्वय समिति संयोजक कृष्णगोपाल ताम्राकार, प्रदेशसभा सदस्य माननीय इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिका मेयर डम्बरबहादुर अर्याल, उपमेयर भगवती नेपाललगायतले पञ्चेबाजाको धुनमा संयुक्तरूपमा राष्ट्रिय झण्डा फहराएर शुभारम्भ गरेको महोत्सवमा स्थानीय लोक तथा परम्परागत संस्कृति, लोक गायनको र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। सिन्धुपाल्चोकका विभिन्न स्थानबाट सहभागी भएका स्थानीय लोक तथा परम्परागत गीत–संगीतको प्रस्तुतिमा पञ्चेबाजा, नेवारी झाँकी नृत्य, गुरुङ र तामाङ नृत्य, क्षत्री बाह्मणका लोक संस्कृति खैजडी भजन, झाँक्री नृत्य, बालन भजन, सेर्पा नृत्य र माझी संस्कृतिका गीत तथा नृत्य प्रस्तुत गरिएका थिए।

कार्यक्रममा मनोहर सुनामले सेक्सोफोनमा विभिन्न धुन सुनाएका थिए भने विश्व नेपाली र निशा देशारले कोटी कोटी बोलको गीत गाएका थिए। त्यसै गरी नवराज घोरासैनी, भीमसेन खतिवडा, उमा श्रेष्ठ, साजन राई, मञ्जु थापा, जितेन्द्रप्रसाद चौधरी, टीका प्रसार्इं, सञ्जय तुम्रोक, निशा देशार र अमृत खातीले आधुनिक गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटाले लोक संस्कृतिले समृद्ध मेलम्ची क्षेत्रका लोक तथा परम्परागत संस्कृतिको जगेर्ना गर्न, लोक संस्कृतिको हस्तान्तरण, नवप्रतिभाहरूलाई अवसर प्रदान गनुका साथै सामाजिक एकता र सद्भावका लागि कार्यक्रम आयोजना गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्