भाषण होइन काम गर



हरेक सरकारले समृद्धिको सपना बाँडेको धेरै भयो । हरेक निर्वाचनमा राजनीतिक दलहरूको मुख्य एजेन्डा नै विकास र समृद्धि हुने गर्छ तर निर्वाचित भए पनि जनतासँग गरेको प्रतिबद्धता भुल्ने परम्परा छ ।

राजनीतिक दलका नेताहरू निर्वाचित भएर गएपछि देश र जनताको स्वार्थभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा बढी केन्द्रित हुँदै आएका छन् । प्राकृतिक स्रोत–साधनले भरिपूर्ण भए पनि अपेक्षाकृतरुपमा विकासले गति लिन सकेको छैन । कारण सरकारको इच्छाशक्तिको कमी । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ इच्छाशक्ति भएको अवस्थामा काम गर्न सकैले पनि रोक्न सक्दैन । राजनीतिक किचलो, अस्थिर सरकार विगतमा विकास हुन नसक्नुको कारण औंल्याइँदै आएको छ । तर यसपटकको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेर सरकार गठन गरेको छ । आशा र अपेक्षा त नागरिकले विगतमा पनि गरेका थिए र अहिले पनि गरेका छन् । जनताले अराजकता, बेथिति, विकृतिको अन्त्य गरेर विकासको युग शुरू होस् भन्ने चाहना राखेका छन् । के अबको सरकारले जनअपेक्षाअनुसार काम गर्ला ?

अब चिप्ला भाषणा र गुलिया आश्वासनले मात्र विकासको सपना पूरा हुनेवाला छैन । देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न सरकारले सक्ला कि नसक्ला ? कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती हट्ला कि नहट्ला ? सरकारले दिने निर्देशनमा कर्मचारीले काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्ने प्रवृत्ति रोकिएका वा नरोकिएल ? अहिले जनमानसमा उठेको प्रश्न यही हो । विगतका सरकारमा सहभागी मन्त्रीहरू देश र जनताको पक्षमा काम गर्नभन्दा पनि आफ्नो स्वार्थमा बढी डुब्दै आएको दृष्टान्त छ । अपवादमा केही मन्त्रीहरूले उदाहरणीय काम गर्ने कोशिश पनि नगरेका होइनन् । विकास र समृद्धिको सपनाअनुसार जनताले परिणाम खोजेका छन् । व्यवहारमा देखिने गरी काम हेर्न चाहेका छन् । खाली भाषण र आश्वासनले मात्र चित्त बुझाउने अवस्थामा नागरिकहरू छैनन् ।

राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि यसपटक जनताले वाम गठबन्धलाई बहुमत दिएका छन् । सोही अनुसार सरकार गठन भइसकेको छ । अब जनताले राजनीतिक स्थिरता समृद्धि, विकास र सुशासन चाहेका छन् । सामाजिक न्याययुक्त समतामूलक समृद्धि र विकास निर्माण अगाडि बढाउनुपर्छ । निर्वाचनमा वाम गठबन्धनले अगाडि सारेको आत्मनिर्भर अर्थतन्त्रसहितको आर्थिक समृद्धि र विकासको एजेन्डालाई सरकारले कार्यान्वयनमा ल्याउन सक्छ कि सक्दैन ? कृषि, पर्यटन, ऊर्जा, खानी, जलस्रोत, रेल्वे, सडक र भौतिक पूर्वाधारमा सरकारले विशेष प्राथमिता दिएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने जसरी प्रतिबद्धता व्यक्त गरेको छ, सोही अनुसार काम भएको हेर्ने चाहनामा नागरिकहरू बसेका छन् । सरकारले अब नारा, भाषण र आश्वासन मात्र बाँड्ने बेला होइन, बोलीअनुसार काम गर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्