तालाबन्दी गरेपछि दुई सातायता पठनपाठनमा समस्या



सरिता चलाउने, सल्यान
सल्यानको एक विद्यालयमा व्यवस्थापन समिति गठन प्रक्रियामा विवाद हुँदा करिब २ सातायता पठनपाठनमा समस्या आएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका जयचौरमा रहेको लक्ष्मी माविको मुल गेट र अफिसकोठामा स्थानीय अभिभावकले तालाबन्दी गरेपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको हो।

विद्यालयको व्यवस्थापन समिति चयन प्रक्रियामा विवाद भएपछि स्थानीयवासीले फागुन १७ गतेदेखि विद्यालयमा तालाबन्दी गरेका हुन्। स्थानीय अभिभावकले लक्ष्मी माविको मुल गेट र अफिसकोठामा ताला लगाएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या परेको कक्षा १० मा अध्ययनरत विद्यार्थी कमला कुँवरले बताइन्।

‘एसईईको परीक्षा आउनै लाग्यो यस बेलामा हामीले विद्यालयबाट नियमित कक्षा संगसंगै अतिरिक्त तैयारी कक्षा पनि लिनुपर्नेबेलामा विद्यालयमा पठनपाठन अवरुद्ध हुनु हाम्रो भविष्यमाथि खेलवाड हो’ –उनले भनिन्। कमलाजस्तै सो विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीले पनि यस समयमा पठनपाठन अवरुद्ध हुँदा आफू मर्कामा परेको गुनासो गरेका छन्। व्यवस्थापन समिति गठनमा विवाद भएपछि यसरी लामो समयसम्म अभिभावकले विद्यालयमा तालाबन्दी गर्दा विद्यार्थीहरूमा निराशा छाएको छ।

विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिकरण गरिएको विषयलाई लिएर सो ठाउँका अभिभावक २ समूहमा बाँडिएका छन्। एक समूहले अर्को समूहले गठन गरेको विव्यस गठन प्रक्रिया नमान्ने हुँदा विवाद भएको स्थानीयको भनाइ रहेको छ। फागुन २ गते अभिभावकहरूको पहिलो बैठकले स्थानीय ज्ञानबहादुर खड्काको अध्यक्षतामा विव्यस गठन गरेको र त्यो निर्णयलाई नमान्दै अर्को स्थानीय अभिभावकको समूहले पुनः फागुन ९ गते स्थानीय टेकबहादुर वलीलाई विव्यसको अध्यक्षमा चयन गरेपछि विवाद भएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ। यस विषयलाई लिएर विद्यालयमा झडपसमेत भएको प्रहरीको भनाइ रहेको छ।

तालाबन्दी भएपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको पहलमा केही दिन अघि विद्यालयमा लगाइएको ताला खोलिएको थियो। फेरि पछि विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यालयमा लगाइएको तालाबन्दी खोल्न आफूले पहल गरिरहेको गाउँपालिका अध्यक्ष केसीले बताएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
यस विषयमा जिल्ला शिक्षा कार्यालय सल्यानसँग कुरा गर्दा जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले यस विषयमा आफ्नो कार्यालयको कुनै संलग्नता नरहेको बताए। नेपाल समाचारपत्र दैनिकसँग कुरा गर्दै उनले भने– ‘यो विषयमा मैलै पहल गर्न खोजेको तर त्यहाँको गाउँपालिकाले त्यहाँ जान दिएन।’

गाउँपालिका अध्यक्ष सन्तोष केसीले यस विद्यालयमा माथिल्लो स्तरको राजनीतिकरण भएकाले शिक्षाले बोल्न आवश्यक नरहेको र गाउँपालिका आफैंले पहल गर्ने बताएपछि आफूपछि हटेको जिशिअ सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्