भूकम्पपछिको पुनर्निर्माण रामेछापमा ११ हजार घर बने



मधुसूदन रायमाझी
रामेछाप जिल्लामा भूकम्पको कारण भत्किएका ४३ हजार घरमध्ये ११ हजार घरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। भूकम्पका कारण भत्किएका ४५ हजार घरधुरीमध्ये ४३ घरधुरीको लाभग्राहीको सूचीमा सूचीकृत भएका छन्। भूकम्प गएको झण्डै ३५ महिनाको अवधिमा ११ हजार निजी घरको पुनर्निर्माण कार्य सम्पन्न हुन बाँकी निर्माणको कार्यले पनि गति लिएको छ।

भूकम्पका कारण भत्किएको घर पुनर्निर्माण गर्न दोरम्बा गाउँपालिका–२ का भूकम्पपीडित प्रेम तामाङ घर निर्माणको चटारोमा छन्। चैत्र मसान्तभित्र घरको डीपीसी गर्नका लागि हतारोमा देखिन्छन्। सरकारले चैत मसान्तसम्म घर निर्माण गरिसक्नु म्याद राखेपछि घर निर्माणका लागि जग खन्ने कार्यमा जुटेका छन्। गाउँभर घर निर्माणको कार्य भइरहेकाले कामदार पाउनै मुस्किल छ’, तामाङले भने– ‘कामदार नपाएपछि अर्मपर्म गरेर नै घर निर्माणमा जुटेका छौं।’ सरकारले घर निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा नै तोकेपछि भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका छन्।

जिल्ला बाहिरका ९ हजार कामदार

रामेछाप जिल्लाका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेशिएपछि पुनर्निर्माणको कार्यमा कामदारको अभाव देखिएको छ। जिल्लामा कामदारको अभाव भएपछि पुनर्निर्माणमा जिल्ला बाहिरका ९ हजार कामदार रहेका छन्। रोल्पा रुकुम, सल्यान, रौतहट सर्लाहीलगायतका जिल्लाका कामदार अहिले पुनर्निर्माणको काममा जुटेका छन्। एकै समयमा हजारौं घर पुनर्निर्माण गर्नुपर्ने भएपछि घर निर्माणमा जिल्ला बाहिरबाट कामदार ल्याउनुपरेको सुनापति गाउँपालिका–३ हिलेदेवीका कान्छाराम तामाङले बताए। उनले भने– ‘घर निर्माण गर्न गाउँमा कामदार नै नपाएपछि जिल्ला बाहिरका कामदार ल्याएर घरको निर्माण गरिरहेका छौं, पैसा तिर्छु भन्दा पनि कामदार पाउन मुस्किल छ।’

पर्याप्त प्राविधिक

शुरुमा प्राविधिकको अभाव झेलेको रामेछापमा अहिले भने पर्याप्त प्राविधिक रहेका छन्। जिल्लाको ८ वटा स्थानीय तहको ६४ वडामा नै अहिले आवश्यक प्राविधिक खटिएका जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले बताए। जिल्लामा हाल १ सय २ जना प्राविधिक रहेका छन्। प्राविधिकको अभाव नभएको अवस्थामा माग गर्नासाथ प्राविधिक उपलब्ध हुने अवस्था रहेको उनले बताए। पुनर्निर्माण भइरहेको घरको अनुगमन गरी मापदण्डअनुसार घर निर्माण भए⁄नभएको सिफारिसको आधारमा मात्र भूकम्पपीडितले दोस्रो किस्ता प्राप्त गर्छन्।

चैत मसान्तसम्मको चटारो

पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले घरको डीपीसी गरिसक्नुपर्ने समयसीमा सकिएपछि घर निर्माण गर्न नसकेका भूकम्पपीडित निराश बनेका थिए। कामदारको अभाव, निर्माण सामग्री जुटाउने कठिनाइ, पानीलगायतको कारण केही भूकम्पपीडितले चाहेर पनि घर निर्माण गर्न सकेका थिएनन्। तर, सरकारले चैत मसान्तसम्मको म्याद थप गरेपछि भने भूकम्प पीडितले जिल्ला बाहिरका कामदार ल्याउने, अर्मपर्म गर्नेलगायतका काम गरेर पनि पुनर्निर्माणको काममा जुटेका छन्। पानीको समस्या भएको स्थानमा नदीबाट पानी ढुवानी गर्ने, कामदार जिल्ला बाहिरबाट ल्याउने काम गरेर भए पनि भूकम्पपीडित चैत मसान्तभित्र नै घरको डीपीसी गरेर दोस्रो किस्ताका लागि प्राप्त गर्ने गरी जुटका छन्। चैत मसान्तभित्र जिल्लामा निर्माण हुन बाँकी रहेका ७ हजार घर निर्माण हुने अपेक्षा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रामेछापले गरेको छ।

भूकम्पपीडितलाई सहुलियतमा काठ

काठका कारण पुनर्निर्माणको काम अगाडि बढाउन नसकिएको गुनासो गर्दै आएका जिल्लाका भूकम्पपीडितलाई जिल्ला वन कार्यालयले सहुलियत दरमा काठ उपलब्ध गराएको छ। पहिलो चरणमा ३ हजार क्युफिट काठ उपलब्ध गराएको हो। जिल्ला वन अधिकृत रामविचारी ठाकुरले उदयरपुरबाट काठ जिल्ला सदरमुकाम मन्थली ल्याई घर बनाउन सम्झौता गरेर दोस्रो किस्ताको सिफारिस भएका पीडितलाई काठ उपलब्ध गराएको बताए। उनले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको सिफारिसको आधारमा भूकम्पपीडितलाई निवेदन दर्ताका आधारमा प्राथमिकतामा राखी काठ वितरण गरिएको बताए।

पहिलो लटमा जिल्लाका १ सय ११ जना पीडितले घर निर्माणका लागि काठ प्राप्त गरेका छन्। रामेछापमा साल काठको जंगल नभएको कारण पुनर्निर्माणका लागि आवश्यक पर्ने ठूलो परिमाणका काठ बाहिरी जिल्लाबाट आयात पर्नेपर्ने बाध्यता रहेको छ। ढुवानीसहित परेको मूल्यमध्ये ९० प्रतिशत छुटमा भूकम्पपीडितलाई काठ उपलब्ध गराइएको वन कार्यालय रामेछापले बताएको छ। वन कार्यालयले बाँकी ७ हजार क्युफिट काठ पनि ल्याउने तयारीमा रहेको बताएको छ।

‘चैत मसान्तसम्म जग असारभित्र घर’

ऋषिराज आचार्य
प्रमुख, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रामेछाप

रामेछाप जिल्लामा भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिएको छ।

जिल्लामा हालसम्म ११ हजार ५ सयभन्दा बढी निजी आवास निर्माण सम्पन्न भइसकेको छ। २५ हजार घर परिवारले दोस्रो किस्ता लिइसकेका छन्। अब जिल्लामा ७ हजार घर निर्माण प्रक्रियामा रहेका छन्। अहिले जिल्लाको सबै क्षेत्रमा बन्न बाँकी घरको पुनर्निर्माण गर्न भूकम्पपीडित जुटेका छन्। चैत मसान्तसम्म अपवादबाहेक सबैले घरको पुनर्निर्माण गर्ने अपेक्षा राखेका छौं। ६ हजार घरको तेस्रो किस्ताका लागि निवेदन परेकोमा ४ हजार ५ सय ५० घरले तेस्रो किस्ता लिइसकेका छन्। भूकम्पका कारण जोखिममा रहेको बस्तीका १ सय ५१ जना लाभग्राहीलाई अन्य ठाउँमा जग्गा खरिदका लागि २ लाख दिने प्रक्रिया शुरु भइसकेको छ।

जिल्लामा २७ जनाले २ लाख रुपियाँ लिएर सुरक्षित स्थानमा जग्गा खरिद गरी घर निर्माण प्रक्रिया शुरु गरिसकेका छन्। भूकम्पको लाभग्राहीको सूचीमा नाम छुटेकाहरूको गुनासोका बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छानविन गरिरहेको छ। कामदारको अभाव, पानीको समस्या, काठको अभावलगायतका कारणले अपेक्षा गरेअनुसार घर पुनर्निर्माण हुन सकेको छैन। अहिले भूकम्पपीडित कुनै पनि हालतमा घर निर्माण गर्ने कार्यमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्