विद्युत् चुहावट ४ प्रतिशतले घट्यो



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको माघ मसान्तसम्म एक नम्बर प्रदेशका ९ वटा जिल्लामा विद्युत् चुहावट करिब ४ प्रतिशतले घटेको छ। नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका १७ वितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्ष २०७३⁄७४ मा रहेको १७ दशमलव ६५ प्रतिशत चुहावटलाई माघसम्ममा ३ दशमलव ९१ प्रतिशतले घटाएर १३ दशमलव ७४ प्रतिशत कायम गरेका छन्।

क्षेत्रीय कार्यालयअन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ। प्रणालीबाट सात करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ। विराटनगर वितरण केन्द्रले १४ दशमलव शून्य ५ प्रतिशत रहेको चुहावटलाई ४ दशमलव २१ प्रतिशतले घटाएर ९ दशमलव ८४ प्रतिशत कायम गरेको छ। दुहवी वितरण केन्द्रले ८ दशमलव ९५ प्रतिशत रहेको विद्युत् चुहावटलाई ३ दशमलव ७ प्रतिशतले घटाएर ५ दशमलव ८८ प्रतिशत पुर्याएको छ। विराटनगर र दुहवी कार्यालयअन्तर्गत ठूला औद्योगिक ग्राहक रहेका छन्।

दमक वितरण केन्द्रले ४ दशलमव ७३ प्रतिशतले चुहावट घटाएको छ। केन्द्रले गत असारसम्मको २३ दशमलव २२ प्रतिशतको चुहावटलाई घटाएर १८ दशमलव ४९ प्रतिशतमा झारेको हो। मोरङको रंगेली वितरण केन्द्रको चुहावट भने अझै ३२ दशमलव ३० प्रतिशत छ। असारसम्ममा ३६ दशमलव ४२ प्रतिशत चुहावट रहेको रंगेली वितरण केन्द्रमा माघसम्ममा ४ दशमलव १२ प्रतिशतमात्रै घटेको छ।

त्यसैगरी इनरुवा वितरण केन्द्रको ३६ दशमलव ५९ प्रतिशतको चुहावट १० दशमलव ७ प्रतिशतले घटेर २६ दशमलव ५२ प्रतिशत पुगेको छ। वेलबारी वितरण केन्द्रको २६ दशमलव १३ प्रतिशत चुहावट १ दशमव २४ प्रतिशतले नियन्त्रण गरेर २४ दशमलव ८९ प्रतिशतमा सीमित भएको छ।

विद्युत् चोरी नियन्त्रणका लागि चालिएका कदम, ट्रान्सफर्मर तथा वितरण लाइनको सदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यसम्पादन सम्झौतालगायतका कारण चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। ‘चोरी नियन्त्रण तथा बक्यौता असुली अभियानले गैरप्राविधिक चुहावटमा कमी आएको छ। ओभरलोडमा रहेको ट्रान्सफर्मर फेरिरहेका छौं। जसले गर्दा प्राविधिक चुहावटमा क्रमिक रूपमा कमी आइरहेको छ।’ उहाँले भन्नुभयो। चुहावट नियन्त्रण अभियानलाई अझै सशक्तरूपमा अगाडि बढाउने घिसिङको भनाइ छ।

चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभएको छ। प्राधिकरणको यही अभियानलाई साथ दिँदै झापाको कन्काई नगरपालिकाले आफ्नो क्षेत्रलाई विद्युत् चुहावटमुक्त घोषणा गरिसकेको छ।

पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले गर्मी शुरू भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने बताउनुभयो। ‘माघसम्मको तथ्यांक हेर्दा विद्युत् चुहावट नियन्त्रणका लागि हामीलाई दिइएको लक्षभन्दा कम छ। तर गर्मी शुरू हुनासाथ ट्रान्सफर्मर र ३३ केभी लाइन ओभरलोड हुँदा नियन्त्रणमा चुनौती थपिन्छ।’ यादवले भन्नुभयो। क्षेत्रीय कार्यालयलाई गत आर्थिक वर्षमा रहेको १७ दशमलव ६५ प्रतिशत चुहावटलाई घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्ँ दिइएको छ।

गत असारसम्म प्राधिकरणको प्रणालीमा २२ दशमलव ९ प्रतिशत विद्युत् चुहावट छ। चालू आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ। तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ। विद्युत् प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६ दशमलव ८२ को चुहावटलाई चालू आर्थिक वर्षमा ३ दशमलव ६४ प्रतिशतले घटाएर १३ दशमलव १८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्