विमान दुर्घटनाका अधिकांश मृतकको शव पहिचान गाह्रो, परिवारलाई बुझाउन पाँच दिन लाग्ने



काठमाडौं । युएस-बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुने अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको चिकित्सकले बताएका छन्।

दुर्घटनाका मृतकहरुको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आजबाट पोस्टमार्टम तथा परीक्षण गर्न थालिएको छ।

अस्पतालका फरेन्सिक विभागका प्रमुख डा प्रमोद श्रेष्ठले पत्रकार सम्मेलनमा काठमाडौं मेडिकल कलेज (केएमसी) बाट ल्याइएका आठ शवबाहेक अन्य सबैको पहिचान गर्न गाह्रो रहेको बताए। निकै जलेको अवस्थामा रहेकाले शव पहिचान गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ।

‘शव पहिचानका लागि सुरुवातमा फिंगर प्रिन्ट, दाँत, लुगा र गरगहनाको परीक्षण गरिनेछ’, उनले भने, ‘त्यसबाट पनि पहिचान गर्न नसकिए डिएनए परीक्षण गर्नुपर्छ।’

पछिल्लो विवरण अनुसार दुर्घटनामा चालक दलका सदस्यहरुसहित ५१ जनाको मृत्यु भएको छ। जसमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ छन्।

पहिलो चरणमा निकै जलेका शवहरुको परीक्षण गरिने र त्यसपछि अन्य शवहरुको पहिचान गर्ने तयारी गरिएको छ।

यसैबीच, शिक्षण अस्पतालमा खटिएका महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी अनुपम श्रेष्ठले एकदमै जलेको अवस्थामा रहेका शवहरुको फिंगरप्रिन्ट जाने भएकाले सुरुवातमा त्यस्ता शवहरुको परीक्षण गरिने बताए।

डिएसपी श्रेष्ठले पहिचान खुलेका शवहरु परिवार र आफन्तजनलाई बिहीबारदेखि हस्तान्तरण गर्न सुरु गरिने पनि बताएका छन्।

शवहरुको अवस्था हेर्दा परीक्षणसहित सबै प्रक्रिया पूरा गरी आफन्तजनलाई बुझाउन करिब पाँच दिनको समय लाग्ने शिक्षण अस्पताल स्रोतले जनाएको छ।

आज १५ वटा शवको पोस्टमार्टम हुने सम्भावना छ।

दुर्घटनाका घाइते २१ जनाको केएमसी, नर्भिक, ग्रान्डी, मेडिसिटी र ओम अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्