राष्ट्रपतिमा फेरि विद्यादेवी भण्डारी विजयी



काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिनु भएको छ । राष्ट्रपतिको लागि मंगलबार भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो ।

वाम गठबन्धनबाट उम्म्ेदवार बन्नु भएकी भण्डारीलाई २९ हजार २ सय ७५ मत प्राप्त भएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएकी कुमारी लक्षमी राईले ११ हजार ७ सय ३० पाउनु भयो ।

निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले मतदान गरेका थिए । राष्ट्रियसभाका ५९, प्रतिनिधिसभाका २ सय ७५ र प्रदेशसभाका ५ सय ५० गरी कुल ८ सय ८४ जनाले राष्ट्रपति छानेका हुन् । यी मध्ये केन्द्र र प्रदेशका सांसदहरुको मतभार फरक–फरक थियो ।

नेकपा एमालेको तत्कालीन उपाध्यक्ष भण्डारी २०७२ साल कात्तिक ११ गते गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बन्नु भएको थियो ।
२०१८ साल असार ५ गते भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा जन्मिएकी भण्डारी विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुभयो ।

भण्डारी २०३७ मा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित हुनु भएको थियो । विद्यार्थी राजनीतिबाट पार्टीको समेत ज्ज्मिेवारी लिएपछि उहाँले केही वर्ष भूमिगत जीवन समेत बिताउनु भयो । उहाँको भूमिगत अवस्थामै २०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसँग विवाह भयो । विवाहपछि उहाँ २ सन्तानको आमा बन्नु भयो र त्यसपछि केही वर्ष गृहणी जीवन बिताउनु भयो ।

२०५० साल जेठ ३ गते दासढुंगा जीप दुर्घटनामा पति जननेता मदन भण्डारीको रहस्यमय दुर्घटनापछि पार्टीले उहाँलाई पुन राजनीति सक्रिय बनायो । मदन भण्डारी २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौ क्षेत्र १ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई करिब ७ सय मतअन्तरले पराजित गरेर चर्चामा आउनु भएको थियो ।

मदनको निधनपछि काठमाडौं १ मा उपनिर्वाचन भयो । त्यो निर्वाचनमा एमालेले विद्यालाई उम्मेदवार बनायो । चुनाव प्रचारप्रसारमा सेतो सारीमै डुलाइयो । त्यो बेला पनि कांग्रेसबाट कृष्णप्रसाद भट्टराई नै उम्मेदवार बन्नु भएको थियो ।

कांग्रेस नेता भट्टराइलार्ई विद्याले मदनको भन्दा अझ बढी मतअन्तरले पराजित गर्नु भएको भट्टराईलाई मदनले करिब ७ सय मत अन्तरले पराजित गर्नु भएको थियो, विद्याले करिब ११ सय मत अन्तरले पराजित गर्नु भएको थियो ।

त्यसपछि उहाँले राजनीतिक सक्रियता बढाउन थाल्नु भयो । उहाँले लामो समय एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी समाल्नु भएको थियो । २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैठौं महाधिवेशनमा एमालेको केन्द्रीय सदस्य बन्नु भयो ।

आठौं नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभयो । गणतन्त्र आएपछि रक्षामन्त्री बन्नु भयो । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उहाँ समानुपातिकबाट सभासद हुनु भएको थियो । त्यसपछि राष्ट्रपति बन्नु भयो ।

भोजपुरकै बेहेरेश्वर प्राथमिक विद्यालयबाट शिक्षा आरम्भ गर्नु भएकी भण्डारीले भोजपुर बाटै एस एल सी उत्तिर्ण गर्नुभयो । भोजपुरमा बाट आइ ए को अध्ययन पुरा गरी महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा बि.ए.उत्तीर्ण गर्नु भएको छ ।

संसदीय राजनीतिमा होमिएको २२ वर्षमा नै राष्ट्रपति बन्न सफल हुनु भएकी भण्डारीले अझै कम्तीमा ५ वर्ष मुलुकमा राष्ट्रनायकको भूमिका निर्वाह गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्