जिल्लास्तरीय बहसमा बालबिवाह न्यूनीकरणको विषय



लमजुङ । लमजुङमा बालबिवाह न्यूनीकरणका लागि जिल्लास्तरीय बहस गरिएको छ । ग्लोबल एक्सन नेपालको अयोजना तथा भिएसओ नेपालको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका सभापति लोकराज पाण्डेले पछिल्ला वर्षमा हाम्रो समाजमा १४– १५ वर्षको उमेरमा केटाकेटीले आफू खुशी विवाह गर्ने प्रवृत्तीको विकास हुन थालेको छ यो हामी सामाजिक अभियन्ताका लागि ठूलो चुनौतिमा रूपमा रहेको छ । यस्ता कार्यक्रमले त्यसलाई न्यूनिकरण गर्न मद्दत गर्ने बताउनु भयो ।

उहाँले यो कार्यक्रमलाई विगतका चारवर्षदेखि आफूले नजिकबाट हेरिरहेको र यसका उपलब्धीलाई साकारात्मक पाएको छु तर पनि कम भएको हुँदा अबका दिनमा स्थानीय तहसँग सहकार्य गरी अघि बढ्नु पर्छ, कार्यक्रम सिमित वडा र विद्याललयमा मात्र नराखी जिल्लाभर सञ्चालन गर्नु पर्र्छ भन्नुभयो ।

कार्यक्रममा बालबिवाह मुक्त गाउँपालिका घोषणा गरेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले ग्लोबल एक्सनका कार्यक्रमले नै हामीलाई बालबिवाह मुक्त गाउँपालिका घोषणा गर्न प्रेरित गरेको बताउनु भयो ।

उहाँले वालविवाह आजका दिनमा पनि चुनौतिका रूपमा छ, हाम्रै गाउँपालिकामा पनि करिब एक महिना अघि एक १५ वर्षे किशोरीको विवाह हुने लागेको थाहा भएपछि रोक्ने काम गर्न आफूहरू सफल भएको स्मरण गर्नु भयो । उहाँले यस कार्यका लागि निरन्तर होसियारी र निगरानी तथा यस्ता सचेतना र बहसका कार्यक्रम निरन्तर हुन जरुरी रहेको आफूले अनुभूति गरको बताउनु भयो ।

उक्त कार्यक्रमको औचित्यमा प्रकाश पार्नु हुँदै भिएसओ नेपालका परियोजना संयोजक अनामिका गौचनले लमजुङ सहितन चार धादिङ, पर्सा र सुर्खेत जिल्लामा यो कार्यक्रम लागू गरिएको तर बालविवाहको हकमा लमजुङ बढी जटिल भएको विगतको अनुभवले देखाएको हुँदा यो बहसको खाँचो रह्यो, प्राप्त सल्लाह र सुझावलाई भोलिका दिनमा लागू गर्ने कार्यक्रममा समावेश गरिने उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीय तहसँग के कसरी सहकार्य गर्न सकिन्छ भन्ने पनि आफ्नो संस्थाले खोजिरहेको बताउनु भयो ।

कार्यक्रममा बालविवाहले निम्त्याउन सक्ने दाम्पत्य, पारिवारिक तथा सामाजिक जटिलता आर्थिक विपन्नता व्यक्तित्व निर्माणसहित शारीरिक स्वास्थ्यमा पर्ने असरका बारेमा सहभागीहरूले खुलेर बहस गरेका थिए ।

हातहातमा मोवाईल तथा सामाजिक सञ्जाल, टिन एजमै व्वाई र ग्रल फ्रेण्ड हुनुपर्ने र नहुने व्यक्ति कमजोर हैसियतको भन्ने सोचको विकास, टिभी र चलचित्रहरू आदिको प्रभावका कारणले बालविवाह बढेको भन्ने निस्कर्षमा सहभागीहरू पुगेको आयोजक संस्थाका परियोजना संयोजक कृष्ण अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्