बहुउद्देश्यीय भवनको निर्माण गर्दै मल्लाज सहकारी



प्रताप बानियाँ, म्याग्दी । उत्तरी पर्वतको जलजला गाउँपालिका–३ माझफाँटमा सञ्चालित मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले भवन निर्माण कार्यलाई तिब्रता दिइएको छ । सहकारीको आफ्नै भवनबाट पसल सञ्चालन गर्ने र ग्रामीण भेगमा दैनिक उपभोग्यलगायत सामाग्रीहरु सहुलियत दरमा उपलब्ध गराउने गरी भवन निर्माण गर्न लागिएको हो ।

सहकारीले करिब एक करोडको लागतमा आफ्नो कार्यालय तथा सहकारी पसल सञ्चालन गर्ने उद्देश्यसहित भवन निर्माण गर्न लागेको जनाएको छ । ५४ फिट लम्बाई, ३९ फिट चौडाईको ४ तले भवन निर्माण गर्न लागिएको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार सहकारी पसल सञ्चालन गर्ने नयाँ कार्ययोजनासहित सहकारीको भवन निर्माण थालिएको छ ।

सहकारीमार्फत डेढ रोपनीको जग्गा ४६ लाखको लागतमा खरिद गरी ९० लाख रुपैयाँको लगत स्टमेटमा लेबर कन्ट्याकमा भवन निर्माणलाई अघि बढाइएको सहकारीका अध्यक्ष अधिकारीले बताएका छन् । उक्त भवनमा सहकारी पसल सञ्चालन गरिनुका साथै सहकारीको साधारणसभा तथा कार्यक्रम, भेला, वैठक, गोष्ठी, सेमिनारको आयोजना गर्नेलगायत कामहरु गरिने उनले बताए ।

सहकारीमा रहेको आफ्नै भवन निर्माण कोषबाट भवन बनाउन लागिएको अध्यक्ष अधिकारीको भनाई छ । शेयर सदस्य र सेवाग्राहीलाई विश्वास दिलाउन, घरभाडामा लिनुपर्ने बाध्यताको अन्त्य, सहकारीका महत्वपूर्ण कागजातहरु सुरक्षित गर्ने लक्ष्य समेत राखिएको छ । भवन निर्माणपछि खासगरी माझफाँट, लेखफाँट र बाँसखर्कका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । गत असार महिनादेखि सुरु भएको भवनको आगामी १५ महिनाभित्र निर्माणकार्य सम्पन्न गरिसक्ने जनाइएको छ ।

मल्लाज बहुउद्देश्यीय सहकारीले आफै इट्टा उत्पादन, ग्रामीण भेगमा केबुल सेवा, कृषकलाई मल तथा बिउबिजन उपलब्ध, रिजार्च कार्ड तथा रेमिट्यान्स भुक्तानी जस्ता सेवासुविधाहरु पु¥याउँदै आइरहेको छ । कुल २ सयजना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी एक करोड ४३ लाख र लगानी १० करोडभन्दा बढी रहेको सहकारीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्