पर्यटकीय नगरी सौराहामा पर्यटकको आकर्षण



चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा आउने पर्यटकहरु निकुञ्ज जिप सफारीमा आकर्षी भएका छन् । घुम्न आउने पर्यटक मध्य करिव ७० प्रतिशतले जिप सफारी गरेर चितवन निकुञ्ज घुम्ने गरेका छन् ।

सुरक्षित र सहज रुपमा वन्यजन्तु हेर्न पाइने भएकाले निकुञ्जको जिप सफारीमा पर्यटकको आकर्षण बढेको हो । संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टीका गिरी बाघ गैँडालगायत वन्यजन्तु अवलोकनका लागि यहाँको जिप सफारी उत्कृष्ट भएको बताउनुहुन्छ ।
निकुञ्जको पूर्वी सेक्टरमा करिव ६० वटा गैँडा अभिलेख गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठक बताउछन । सौराहामा आउने पर्यटक हात्ती र जिप सफारीमा बढी रमाउँछन् ।

सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने भएकाले पनि विभिन्न प्रजातिका वन्यजन्तु अवलोकन गर्न सौराहाको जिप सफारी महत्वपूर्ण हुने बाघ संरक्षण उपसमिति सौराहाका अध्यक्ष जितु तामाङको भनाइ छ ।

सौराहाबाट निकुञ्ज घुम्नका लागि ४० भन्दा बढी जिप सञ्चालनमा छन् । निकुञ्जमा जिप सफारी गरेबापत गाइडसहित शुल्क रु एक हजार ५०० लाग्छ । पर्यटक प्रवेश गर्दा नेपालीलाई रु ११३, सार्कको नागरिकलाई रु ८५० तथा तेस्रो मुलुकका पर्यटकलाई रु एक हजार ६९५ थप शुल्क लाग्छ । एउटा जिप प्रवेश गर्दा निकुञ्जले रु चार हजार ५२० शुल्क लिन्छ ।

सौराहा रेवानका अध्यक्ष गोकर्ण गिरी पर्यटन र संरक्षण सँगसँगै गएकाले पनि सौराहाको आसपास क्षेत्रमा हात्ती र जिप सफारीमा पर्यटकले सहजै गैँडालगायत वन्यजन्तु हेर्न पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्