आगलागीमा घर जल्दा साढे पन्ध्र लाख क्षति



रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आगलागीमा परी घर जल्दा पन्ध्र लाख बढी क्षति भएको छ । भान्छा कोठाबाट सल्किएको आगोले दिक्तेल–खार्मी सडकखण्डमा पर्ने सोती भन्ने स्थानमा रहेको बकसमणि राईको घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा पन्ध्र लाख ४२ हजार बराबरको क्षति भएको हो ।

घरमा कोही नभएको समयमा सोमबार साँझ आगलागी हुँदा तीन तले घर तथा घरमा राखिएका नगद ५० हजार रुपैंयाँ , बिक्री गर्न राखिएको ६ मन अलैंची, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात लगायत जलेर नष्ट भएको स्थानीय हर्कराज राईले जानकारी दिनुभयो । घरमा लागेको आगो स्थानीयले करिब तीन घण्टापछि नियन्त्रणमा लिएका थिए ।

आगलागीमा घर तथा घरमा भएका सबै सामग्री जलेर नष्ट भएपछि राई परिवारको विचल्ली भएको छ । आगलागीमा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्