अवकासपछि ब्यबसायिक माहुरीपालन



पर्वत । नेपालमा कर्मचारीहरु ६० वर्ष उमेर पुगेपछि सरकारी सेवाबाट अवकास हुन्छन् । ६० वर्ष कटेपछि जेष्ठ नागरिकको परिचयपत्र दिने व्यवस्था छ । तर, यहाँका एक ६५ वर्षेको जाँगर भने कुनै युवाको भन्दा कमी छैन ।

फलेवास ४ कमलेबजारका नरेश्वर शर्मा पौडेल प्राथमिक तहका पूर्वशिक्षक हुन् । शिक्षण पेसाबाट ५ वर्षअघि अवकास लिएका पौडेलले अहिले पेन्सन भन्दा बढी आफ्नै पौरखले आम्दानी गरिरहेका छन् । त्यो पनि आफ्नै आँगनबाट । ३ आना जग्गाबाट उनले वार्षिक ४देखि साढे चार लाखसम्मआम्दानी गर्छन् ।

२०४६ सालदेखि माहुरीपालनमा लागेका पौडेलले आफू शिक्षण पेसामा रहँदा पनि सक्रिय थिए । ०३७ सालमा प्रमाणपत्र तहको परिक्षा दिन भारतको गोरखनाथ जाँदा आधुनिक माहुरीपालन देखेर प्रभावित भएका उनी गाउँ फर्किएर यो पेसा गर्ने सोच बनाएको बताउँछन् । ‘म घर फर्केपछि १० वर्षसम्म आधुनिक घार नेपालमा पाइएन,’ उनले भने, ‘यो घार भेट्नेबित्तिकै मैले एउटाबाट पाल्न सुरु गरेको हुँ ।’ अहिले उनकोमा २६ घार माहुरी छन् । बिहान उठेदेखि साँझसम्म उनले माहुरीको रेखदेखमा बिताउँछन् । अहिले भएका माहुरी सबै जंगलबाट खोजेर ल्याएको हुँ,’ उनले भने ।

बागलुङको बलेवास्थित एक प्राथमिक विद्यालयमा अध्यापन गर्नेक्रममा बाटोमा पर्ने जंगलबाट माहुरी ल्याएर घार विस्तार गरेका हुन् । उनको यो पेसालाई श्रीमती हरिकलाले साथ दिएकी छन्। ‘दुई छोराहरु आफ्नो बाटो लागे । पेन्सनपछि समय बिताउन गरौं भन्नुभयो । उहाँलाई फुर्सद नहुँदा मैले नै हेर्छु ।’ श्रीमती हरिकलाले भनिन् । उनका दुई छोराहरु पेसा र रोजगारीको सिलसिलामा गाउँबाहिर छन् ।

पौडेलले पालेका माहुरीबाट वर्षमा ३ पटक माहुरी निकाल्छन्। फागुन, मंसिर र जेठमा मह निकाल्छन् । एउटा घारबाट वर्षमा १५ देखि २० किलो मह उत्पादन हुन्छ । अहिले महको बजारमूल्य प्रतिकिलो १२ सय रुपैयाँ छ । मह सहजै बिक्री हुन्छ । फलेवास नगरपालिकामा व्यावसायिक रुपमै माहुरी पाल्ने किसान नरेश्वर मात्रै हुन् । स्थानीय प्राकृतिक जडीबुटी र फूलको रस खाएका माहुरीको मह स्वस्थकर मात्रै नभई विभिन्न रोगको औषधिका रुपमा समेत प्रयोग हुने विश्वास छ ।

मह र माहुरी अझ विस्तार गर्ने योजनामा छन् । पौडेलले दुई दशकदेखि यो व्यवसायमा लागेर पनि औपचारिक तालिम लिएका छैनन् । सरकारी तथा गैरसरकारी निकायबाट कुनै आर्थिक र प्राविधिक सहयोग पनि उनलाई आएको छैन । पछिल्लो समय एक नयाँ प्रजातिको चरा र अरिङ्गाल माहुरीपालनका चुनौती थपिएका छन् । २ वर्षदेखि हिउँदको समयमा देखिने हरियो चराले नजिकैको बाँसमा बसेर माहुरी खाने गरेको पौडेल दम्पतीले सुनाए ।

‘त्यो चराको गन्ध पाएपछि माहुरी सबै लाइन लागेर त्यहाँ पुग्छन् । चराले सबै खाएर सखाप पारिसक्यो ।’ त्यस्ता चरा १०–१२ को हाराहारीमा छन् । त्यसबाहेक कमिला, हुरीबतास, शीत, आकासे वर्षा माहुरीका शत्रु हुन्। फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले नगरपालिकामा अन्यत्र व्यावसायिक माहुरीपालन नभएको अवस्थामा नरेश्वरलाई सहयोग मात्रै नभएर प्रोत्साहन गरी अन्यत्र विस्तार गर्ने सोच बनाएको बताए । ‘त्यो फलेवासकै नमुना माहुरीपालन फर्म हो,’ शर्माले भने, ‘उहाँलाई प्रोत्साहन गर्न अनुदान मात्रै होइन । हामीले थप माहुरीपालन गर्न उहाँबाटै सुरुवात गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्