रुकुमको तरकारी बीउले औपचारिक कारोवार पायो



धनवीर दाहाल, रुकुम । रुकुमको तरकारी बीउले औपचारिक रुपमा कारोवार पाएको छ । सहकारीको माध्यमबाट स्थानीयहरुले बिभिन्न तरकारी बीउको उत्पादन गरी बिक्री बितरण गर्न थालेपछि आम्दानीको स्रोत बढेको हो ।

काउली, केराउ, मुला, रायो, सिमी, लगाएतको बीउ उत्पादन गर्न थालिएको हो । बीउ उत्पादनको क्षेत्रमा सहयोग गर्दै आएको केयुबिके कार्यक्रम सञ्चालन भएपछि आफुहरुले आधुनिक कृषि प्रणाली र औपचारिक बीउ बिजनको क्षेत्रमा संलग्न हुने मौका पाएको स्थानीयले बताएका छन् ।

खेतबारीमा उत्पादित बीउले बजार पाउँदा कृषकहरु उद्यमी बन्न उत्साहि बनेका जिल्ला बीउ उत्पादक सहकारी संघ तथा एकिकृत कृषि सहकारी संस्था त्रिवेणी १० का अध्यक्ष धनराज खड्काले बताए । उनले खेतबारीमा उत्पादित बीउले बजार पाउँदा कृषकहरु उद्यमी बन्न उत्साहि बनेको दावी गरे । कार्यक्रमबाट प्राप्त अनुदान, प्राबिधिक ज्ञान र औपचारिक बजारको सम्बन्धले उनीहरुमा थप खुशि छाएको हो ।

रुकुमका कृषकहरुले उत्पादन गरेको उन्नत तरकारी बीउ नियमित खरिद गरिरहेको निजि बीउ कम्पनि रुकुमेली एग्रोसिड कम्पनिले यहाँका किसानबाट उत्पादित गुणस्तरिय बीउको बजारीकरण गर्न कठिन नहुने बताएको छ । तरकारी बीउ उत्पादनको हिसाबले रुकुमलाई हेर्दा अग्रपंतिमा नाम आउछ । हावापानी, उर्वर माटो, कृषकहरुको मेहनत लगायतका कारण यहाँको बीउ गुणस्तरियताको हिसाबले पहिल्यै देखि चर्चामा आउने गरेको छ ।

बिगतमा जिल्लामा उत्पादित तरकारी बीउ नेपालका बिभिन्न जिल्ला र बिदेशमा समेत निर्यात हुने गरेको थियो । बिचौलियाहरुको बिगबिगि तथा बजारको सुश्चितता नहुँदा जिल्लाको बीउ बजारीकरणमा केहि बर्ष अघि चुनौति खडा भयो ।

जिल्लामा उत्पादित बीउले बेलैमा बजार नपाउँदा किसानहरु बीउ उत्पादनको कार्यबाट पछाडि पर्न गएको तर अहिले जिल्लामा नेपाल सरकार र कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको सहयोगमा किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम सञ्चालन भएपछि यहाँका कृषकहरुले आधुनिक कृषि प्रणली र औपचारिक बीउ बिजनको क्षेत्रमा संलग्न हुने मौका पाएको किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम कार्यान्वयन ईकाई रुकुमका जिल्ला बीउ संयोजक शंकर न्यौपानेले बताए ।

जिल्ला लगानीद्धार कार्यालयले कृषकहरुको व्यबसायिक योजना निर्माणसँगै प्रस्तावना निर्माणमा प्रत्यक्ष भुमिका खेलेको जिल्ला कृषि व्यबसाय विकास सल्लाहकार राजु लामिछानेले बताए । आफूले उत्पादन गरेको तरकारी बीउ सहजतापूर्वक बिक्रि गर्न पाउँदा आफुहरु झन् उत्प्रेरित भएको समशितोष्ण तरकारी बीउ उत्पादन सहकारी सँस्थाकी अध्यक्ष गोपा बि.एमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्