सुरक्षा व्यवस्था बढाऊ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको विमान दुर्घटनाले हवाई सुरक्षा चुनौतीको वास्तविकता छर्लंग भएको छ । नेपालीहरु एकातिर आफ्नो देशमा भएका सेवा–सुविधाप्रति सन्तुष्ट छैनन् भने यो घटनाले नेपालप्रति अन्तर्राष्ट्रिय जगत्ले पनि विश्वास गर्न छोड्ने खतरा बढेर गएको छ । दुर्घटना जे कारणले जसरी भए पनि यो कहाली लाग्दो समाचार कम दर्दनाक छैन । विमानस्थलले भनेको चालकले नमान्ने र आफूखुशी निर्णय गर्ने चालकको स्वभावका कारण पनि दुर्घटना हुने गरेका छन् ।

बंगलादेशको ढाकाबाट नेपाल आएको विमान दुर्घटना भएपछि विश्वभरका मानिसका आँखा रसाएका छन् । पटक–पटक भइरहने यस्ताखाले दुर्घटना रोक्न कसले कदम चाल्ने भन्ने नै अन्यौल छ । अब पनि एकले अर्कालाई दोष लगाएर फेरि पनि यस्ता घटना निम्तिदैनन् भन्ने विश्वास गर्ने आधार छैन । सरकार, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम नामका मात्र हुने हुन् र यिनीहरुबाट सुरक्षा एवं व्यवस्थित यात्राका लागि कुनै पहल नहुने हो भने जनताले धेरै आलोचना गर्ने गरी कसैलाई जागिर मात्र खुवाइरहनुको अर्थ छैन ।

दुर्घटना भएका बेलामा मात्र गम्भीर भएजस्तो देखिने र अरु बेला कुनै मतलव नगर्ने नेपालको पुरानै परम्परा बनेको छ । तर यस्ता घटनाले जिम्मेवार मानिसहरुको मन छुन सकेको छैन ।

हुन त विभिन्न संघसंस्थाले विज्ञप्ति निकालेर दुःख प्रकट गर्छन् होला, एकछिन् आमूल परिवर्तन र सुधारको नारा लगाउँछन् होला तर यो अन्तिम विकल्प होइन । तत्काललाई थामथुम गर्न र पीडितको मनलाई सान्त्वना दिन पटक–पटक छानबिन आयोग गठन हुने गर्छन् तर तिनले दिएका प्रतिवेदनहरु कहाँ कसको दराजमा थन्किन्छन्, कसैलाई पत्तोसमेत हुँदैन ।

नेपालमा विमान दुर्घटना यो मात्र होइन । वार्षिक एक–दुईवटा ठूला दुर्घटना हुँदा पनि न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान नजानुले एकपटक सोच्न बाध्य बनाएको छ । विमान दुर्घटनामा परेपछि बाँच्ने सम्भावना कमै भएकाले ठूलो क्षति हुने गरेको छ । कहिले मौसमको खराबी, कहिले टावरसँग सम्पर्क नहुनु, कहिले उपकरण बिग्रेर दुर्घटना हुनु स्वाभाविक हुनसक्छ तर चालक, यात्रु वा अन्य कारणले हुने गरेका दुर्घटनालाई भने रोक्न पहल गरेको देखिँदैन । कहिले विमानभित्रै मुसा भेटिने, चरासँग ठोकिने घटनाले पनि नेपालको अन्तर्राष्ट्रिय विमानस्थल असुरक्षित हुँदै गएको भनेर चिन्ता मान्नुपर्ने बेला भएको छ ।

त्यसैले नेपालमा हुने गरेका जुनसुकै दुर्घटनाको वास्तविकता खोज्नतिर लाग्नुपर्ने खाँचो छ । विमान दुर्घटना मात्र नभएर अस्तव्यस्त सडक संरचना, यात्रुको लापरबाही र अन्य कारणले हुने गरेका सडक दुर्घटनामा समेत एकातिर अकालमै मानिसको ज्यान गएको छ भनें अर्कातिर राज्यप्रतिको जनविश्वाससमेत गुम्दै गएको छ । त्यसैले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हवाई सुरक्षाप्रति विश्वास दिलाउन सरकारले कुनै कसरत बाँकी राख्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्