लोक मेलामा ११ देशका ३ सय कलाकार



एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा गत फागुन १७ देखि राजधानीमा जारी नवौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४ शुक्रबार फागुन २६ गते सम्पन्न भएको छ।

पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने नाराका साथ १० दिनसम्म चलेको मेला नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ग्रुपका संस्थापक अध्यक्ष तथा मेलाका संयोजक रामचन्द्र कोइरालाले बताए। काठमाडौं, ललितपुर, धादिङ, गैंडाकोट, पोखरा जस्ता पर्यटकीय क्षेत्रमा आयोजना गरिएको मेलामा नेपाल, इस्टोनिया, कोस्टारिका, इन्डोनेसिया, बंगलादेश, भारत, इजरायल, मलेसिया, टर्की, इटली र ग्रिस गरी ११ राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३ सयभन्दा बढी कलाकार सहभागी थिए।

मेला अवधिभर कलाकारले आ–आफ्नो संस्कृति झल्कने भेषभूषा पहिरिएर लोक नृत्य, संगीत, लोकगीत प्रस्तुतिसँगै पदयात्रासमेत गरेका थिए। कलाकार ऐतिहासिक तथा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका जस्ता पर्यटकीय दरबार क्षेत्रमा कार्यक्रम गर्न पाउँदा अचम्मित भएका थिए। मेला हरेक २ वर्षमा आयोजना गरी अन्य मुलुकसँग पनि संस्कृति आदान–प्रदान गर्दै आएको आयोजक कोइरालाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्