नेपालले जित्दा अफगानिस्तानलाई फाइदा



नेपाल समाचारपत्र
काठमाडौं
जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले समूह–बी को अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराएर पहिलो जित दर्ता गरेको छ। यो जितले नेपाललाई सुपरसिक्समा त पुर्याएन बरू नेपालको जितले अफगानिस्तान भाग्यमानी बन्दै सुपर सिक्समा पुग्यो।

नेपाल, हङकङ र अफगानिस्तान तीनै टोलीको २÷२ अंक थियो र अफगान टोली नेट रनरेटमा अगाडि रहेर तेस्रो स्थान हँुदै सुपर सिक्समा पुगेको हो। नेपाल चौथो र हङकङ पाँचौं स्थानमा रहेका छन्।

नेपालले अब सातौं स्थानको लागि प्लेअफ खेल खेल्नेछ। नेपालले समूह–ए मा पाँचौ स्थानमा रहेको पपुआ न्युगिनीसँग खेल्नेछ। पपुआ न्युगिनीले सो समूहमा चारै खेल हारेको छ। पपुआ न्युगिनीविरुद्ध नेपालले जितेमा वानडे स्टयाट्स प्राप्त गर्नेछ। त्यस्तै हङकङले समूह–ए मा चौथो स्थानमा रहेको नेदरल्यान्डसँग प्लेअफ खेल्नेछ। समूह–एबाट शीर्ष तीन टोली क्रमशः आयरल्यान्ड, वेस्ट इन्डिज र संयुक्त अरब इमिरेट्स (यूएई) सुपर सिक्समा पुगेका छन्। यूएई त्यही टोली हो जसले नेपाललाई डिभिजन–२ को फाइनल खेलमा हराएको थियो।

हिजोको खेलमा पनि नेपालले ६६ रनको लागि शीर्ष ५ विकेट गुमाउँदा झण्डै हारको सम्भावना बढेको थियो। मात्र १ सय ५४ रनको लक्ष्य प्राप्त गर्न यसपछि भने नेपालले विकेट गुमाउनु परेन। रोहितकुमार पौडेल र सोमपाल कामीले छैठौं विकेटको लागि अटुट ८९ रनको साझेदारी गर्दै नेपाललाई ४१औं ओभरमै जित दिलाएका थिए। रोहितले ८६ बलमा ४८ रन र सोमपालले ४० बलमा ३७ रन बनाएका थिए।

प्रतियोगितामा पहिलो पटक नेपालको प्रारम्भिक ब्याटसम्यानले राम्रो साझेदारी गरे। अनिलकुमार साह र ज्ञानेन्द्र मल्लले ४१ रनको साझेदारी गरेका थिए। अनिल २६ रनमा र ज्ञानेन्द्र १२ रनमा पवेलियन फर्केका थिए। यसपटक भने कप्तान पारस खड्का ११ रनमै आउट भए। यसअघिका खेलमा पारस मात्रै चम्केका थिए। उनले स्कटल्यान्ड र अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए। यस्तै दीपेन्द्रसिंह ऐरी १२ रनमा आउट हँदा आरिफ शेख २ रनमा पवेलियनमा फर्केका थिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४८.२ ओभरमा १ सय ५३ रनमा रोकेको थियो। १ सय १० रनमा ८ विकेट गुमाइसकेको हङकङले १ सय ५० रन कटाउन भने सफल भयो। टोलीका लागि सर्वाधिक रन बनाउने निजाकत खान (४७ रन) को विकेट ललित राजवंशीले लिएर नेपाललाई खेलमा फर्काएका थिए। नेपालको कसिकसाउ बलिङमा सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने वसन्त रेग्मी र करण केसीले २/२ विकेट हात पारे। सोमपालले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्