“निर्यात सहजीकरणका लागि अन्तर्राष्ट्रिय नियोगसँग सहकार्य”



नेपाल समाचारपत्र
काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले उत्पादनमुलक अर्थतन्त्र र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने बताउनुभएको छ। स्वदेशी उत्पादनलाई विश्व बजारमा निर्यात सहजीकरण गर्नका लागि सरकारले कूटनीतिक पहलमार्फत् अन्तर्राष्ट्रिय नियोगसँग सहकार्य गर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको सोमबार राजधानीमा आयोजित २४औं वार्षिक साधारणसभा तथा २१औं राष्ट्रिय महिला उद्यमी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले समृद्धिको मूल आधार निजी क्षेत्र भएको भन्दै साना तथा मझौला उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय लगानी भित्र्याउने र निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताउनुभयो। मुलुकमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम लघु, घरेलु तथा साना उद्योग भएको भन्दै खतिवडाले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यस्ता उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने भनाइ राख्नुभयो।

‘हामी कहाँ छौं भन्ने कुरा हामीलाई नै थाहा छैन। आफू कहाँ छौं भन्ने थाहा नपाएपछि नभएपछि कसरी अगाडि बढ्ने भन्ने थाहा हुँदैन। तसर्थ, निजी क्षेत्रले आफ्ना समस्या र त्यस क्षेत्रको विकासका लागि सरकारसँग आवस्यक समन्वय गरेर अघि बढ्न सक्नुपर्छ।’–अर्थमन्त्री खतिवडाले भन्नुभयो। तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका उद्योग र निकासी प्रवद्र्धन गर्ने उद्योगको लागि विशेष व्यवस्था गर्न सरकारले विशेष कार्यक्रम उहाँको भनाइ छ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताउनुभयो। स्वदेशी उद्योगहरूको विकासबिना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने भन्दै मन्त्री यादवले मुलुकमा उद्योगधन्दाको विकास गर्दै आर्थिक समृद्धि हासिल गर्ने चुनावी घोषणापत्रका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो। ‘हामी मुलुकमा औद्योगिकरणको प्रवद्र्धन र विकास गर्ने प्रतिबद्धताका साथ चुनाव लडेर निर्वाचित भएर आएका हौं। उद्योगी÷व्यवसायी ढुक्क हुनुहोस हामीले प्रतिबद्धता पूरा गर्छौं।’ मन्त्री यादवको भनाइ छ।

अहिले मुलुकभित्र उत्पादित वस्तु सस्तोमा बिक्री गर्ने र आयातित वस्तुहरू महँगोमा किन्नुपर्ने बाध्यता रहेको छ। यस्तो अवस्थामा नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यावसायिकरण गर्नुपर्नेमा मन्त्री यादवले जोड दिनुभयो। ‘हामी कृषिप्रधान मुलुक र ५० प्रतिशत जनशक्ति कृषिमा लागेका छौं। तर, अधिकांश कृषिजन्य उत्पादन आयात गरेर खान्छौं।’ मन्त्री यादवले भन्नुभयो।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपाली जनताको आर्थिक समृद्धि र विकासप्रतिको दमित अभिलासा नयाँ सरकार गठन भएसंँगै उजागर हुन थालेको भन्दै वर्तमान सरकार राजनैतिक स्थायित्वसहित विकास र आर्थिक समृद्धिको अभियानमा लाग्नेमा निजी क्ष्ँेत्रको अपेक्षा रहेको बताउनुभयो।

अर्थतन्त्रका आधारभूत क्षेत्रहरू कृषि, वन, खनिज, पर्यटन, जलस्रोत र मानीवय सम्पदालाई अधिकतम् उपयोग गरी आगामी ५ वर्षभित्रैमा जनतालाई अनुभूत हुने गरि अर्थतन्त्रमा छलाङ मार्ने चुनौती सरकारलाई रहेको गिरीको भनाइ छ। नेपालले ढाका, पश्मिना, सेरामिक, हस्तकला जस्ता वस्तु निर्यात गर्दै आएको छ। कृषि, जडिबुटी तथा प्राकृतिक रेशाजन्य वस्तु, खनिजजन्य वस्तु, पर्यटन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, लघु जलविद्युत् जस्ता तुलनात्मक लाभका क्षेत्रलाई अझै उद्योगका रूपमा विस्तार गर्न नसकेको गिरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्