स्थानीय तहका अधिकांश कार्यालय भाडाका घरमा



gu/;ef x’g g;s]kl5 ;’g;fg ag]sf] s’Zdf gu/kflnsfsf] sfof{no . tl:j/M cuGw/ ltjf/L÷sflGtk’/ .

दुर्गाप्रसाद शर्मा, पर्वत
स्थानीय तहको नयाँ व्यवस्था कार्यान्वयन भएदेखि नै कुश्मा नगरपालिकाको कार्यालय मासिक ३० हजार रुपैयाँ तिरेर भाडाको घरमा छ । जिल्लाका अरु स्थानीय तहमध्ये सम्पन्न मानिने कुश्माको पाँच वर्षसम्म कार्यालय भवन बन्न सकेको छैन ।

नगरपालिकाका ४, ५, ६, ७, ९ र ११ का वडा कार्यालय पनि भाडाका घरमै सञ्चालित छन् । साबिकका केही गाविसले हालका वडाको सेवा पुरानै कार्यालयबाट दिँदै आएको भए पनि नगरका आधाभन्दा बढी वडा कार्यालय भाडाका घरमै सञ्चालित छन् । वडा कार्यालयले मासिक साढे ७ देखि १० हजार रुपैयाँसम्म भाडा तिर्छन् ।

२०७३ फागुनदेखि कार्यान्वयनमा आएको फलेवास नगरपालिका पनि भाडामै छ । स्थानीय मोती सामुदायिक पुस्तकालयको तीनवटा साँघुरा कोठा भाडामा लिएर फलेवास नगरपालिकाको कार्यसम्पादन भइरहेको छ । पैयुँ र मोदी गाउँपालिका पनि भाडाको घरमै छन्। महाशिला, विहादी र जलजलाले साबिकका दुई–तीनकोठे गाविस भवनबाट गाउँपालिका अन्तर्गतका सबै विषयगत कार्यालयको कार्यसम्पादन गर्दै आएका छन् । स्थानीय तह कार्यान्वयनपछि साबिक सदरमुकामबाट हुने ३६ भन्दा बढी विषयगत कार्यालयका कार्यसम्पादन गाउँपालिका र नगरपालिकाबाटै गर्नुपर्ने व्यवस्था छ ।

फलेवास नगरपालिकाका विषयगत आधा दर्जनजति कार्यालयले कृषि र पशु सेवाकेन्द्रको भवनका कोठाबाट कार्यसम्पादन गरिरहेका छन् । कतिपय कार्यालयका कर्मचारीलाई बस्ने कुर्सीसमेतको व्यवस्थापन नहुँदा कार्यसम्पादनमा समस्या छ । ‘बस्ने कुर्सीसमेत छैन,’ महिला तथा बालबालिका संयोजक तारादेवी सुनुवारले भनिन् ‘व्यवस्थित कार्यालयको कुरा छाडौं ।’ व्यवस्थित कोठाको अभावमा शिक्षा र प्राविधिकलगायतका कार्यालयको कार्यसम्पादनमा समस्या छ ।

नगरपालिका र विषयगत कार्यालय एकै ठाउँमा नहुँदा सेवाग्राहीलाई नगरपालिकाको काम लिएर जाँदा धेरैतिर डुल्नुपर्दा झन्झट हुने गरेको छ । ‘स्थानीय तह कार्यान्वयनमा आएपछि एकै ठाउँमा काम होला भन्ने थियो,’ रानीपानीका दिलीप पौडेलले भने, ‘अहिले झनै दुस्ख भएको छ । पहिले एकठाउँबाट हुने काम गर्न अहिले चार–पाँच ठाउँमा पुग्नुपर्छ ।’

नगरपालिका र गाउँपालिकका कार्यालयहरु निकै साँघुरा हुँदा सेवा दिन समस्या रहेको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर रिमालले बताए । ‘सेवाग्राही आउँदा लाइनमा बसेर आउजाउ गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कार्यकक्ष र बसोबासको निकै समस्या छ । सेवाग्राहीको भीड हुँदा काम गर्नै सकिन्न ।’

पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार गाउँपालिकाले मासिक ४० हजार रुपैयाँ भाडा दिने गरी नौकोठे भवन भाडामा लिएको छ । पैयुँका ३, ५ र ७ वडा कार्यालय पनि भाडाकै घरमा छन् । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलका अनुसार गाउँपालिकाको कार्यालय हाल २० हजार रुपैयाँ भाडा तिरेर ८ कोठे घरबाट सञ्चालित छ । ‘छिट्टै गाउँपालिकाको आफ्नै भवन बनाउने योजना बनाएकै हो,’ उनले भने, ‘जग्गाको व्यवस्था भइसक्यो । अब पास गर्न बाँकी छ ।’ गाउँपालिकालाई वडावासीले निशुल्क दिएको जग्गामा भवन बनाउन कार्यपालिकाको बैठकमा कुरा चलेको उनले बताए । मोदीका कृषि र भेटेरिनरीलगायत विषयगत कार्यालय अन्यत्रैबाट सञ्चालित छन्।

बिहादीका प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्माका अनुसार गाउँपालिकाले ७ कोठे भवनको भाडा मासिक ३० हजार रुपैयाँ तिर्छ । बिहादी ३ को वडा कार्यालय पनि भाडामै छ । ‘विषयगत कार्यालयका लागि पर्याप्त छैन,’ उनले भने, ‘बल्लतल्ल गाउँपालिकाले कामकाज गरेको छ । एउटै कोठामा विभाजन गरेर ३ वटासम्म कार्यालय सञ्चालन गरिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्