आँखा स्वास्थ्य सेवालाई महिला लक्षित गर्नु जरुरी



तिलगंगा आँखा प्रतिष्ठानले फ्रेड हलोज फाउन्डेसनको सहकार्यमा लैंगिक आँखा स्वास्थ्यसम्बन्धी एउटा अध्ययनपत्र प्रकाशित गरेको छ। यस अध्ययनपत्रले महिलामा आँखा स्वास्थ्यको पहुँच र यसको प्रभावबारे प्रकाश पारेको छ।
विश्वमा कुल अन्धोपनामध्ये ५ सय ५५ महिला रहेका छन्। जुन निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्दछन्। दिगो विकास लक्ष्य प्राप्तिका लागि समानता उचित कार्यभार, आर्थिक वृद्धिका साथै भिजन–२०२० लक्ष्य प्राप्तिका लागि आँखा स्वास्थ्य सेवामा महिला र बालिकाको पहुँच बढाउँदै सम्पूर्ण किसिमका असमानता हटाउन आवश्यक रहेको छ।
एक महिलाले पुनर्दृष्टि प्राप्त गर्दा उसमा पर्ने मनोवैज्ञानिक प्रभाव, आयआर्जनको सम्भावना, सामाजिक क्रियाकलापमा सहभागिताको क्रममा विकास साथै परिवारमा सामाजिक, आर्थिक लागत जस्ता तथ्यको सकारात्मक प्रभाव पर्ने इकोनोमोनिस्ट इन्टिलेजन्स युनिटको अध्ययनमा देखिन्छ। महिला सशक्तीकरणको उद्देश्यका साथ तिलगंगा आँखा प्रतिष्ठानमार्फत सञ्चालित शहर तथा सामुदायमा केन्द्रित आँखा कार्यक्रममा महिलाको सशक्त उपस्थिति देखिन्छ।
प्रतिष्ठानको कार्यकारी निर्देशक डा. रीता गुरुङको नेतृत्वमा कुल ३२ मध्ये २१ महिला नेत्र विशेषज्ञले निरन्तर सेवा प्रदान गरिरहनुभएको छ। डा. रीता गुरुङ भन्नुहुन्छ– ‘हाल आँखा सेवा आवश्यकमध्ये कुल ३० देखि ३५ प्रतिशत आँखा सेवाग्राहीले सेवा पाइरहेको सन्दर्भमा, महिलामा भएको कुल अन्धोपनको भारको आधारमा, ६ सय ५ सेवा महिलाले प्रयोग गर्नुपर्नेमा ५ सय ३५ मात्र प्रयोग गरेको देखिन्छ। जुन विल्कुलै सन्तोषजनक देखिँदैन। विभिन्न सेवा र विकासमा कार्यक्रममा महिला लक्षित कार्यक्रम आइरहेको अवस्थामा आँखा स्वास्थ्य सेवालाई महिला लक्षित गरी समुदायमा लैजाँदा मात्र आँखा सेवाको समतामूलक वितरण र भिजन–२०२० को लक्ष्य प्राप्त गर्ने सम्भावना देखिन्छ। यस कार्यक्रमबाट हामी आशावादी छौं।’
त्यस्तै फ्रेड हलोज फाउन्डेसनका क्षेत्रीय निर्देशक रमेश पुरी भन्नुहुन्छ– ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एक समानता, उचित कार्य, आर्थिक वृद्धि साथै भिजन–२०२० लक्ष्य प्राप्तिका लागि आँखा स्वास्थ्य सेवामा महिला र बालिकाको पहुँच बढाउँदै सम्पूर्ण किसिमका असमानता हटाउन आवश्यक रहेको छ।’
नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निभाइरहेका नेत्र विशेषज्ञहरूले दृष्टि पुनःस्थापनको नेतृत्व गरिरहेका छन्। अन्तर्राष्ट्रिय एजेन्सी फर द प्रिभेन्टेसन अफ ब्ल्यान्नेसले हालै प्रस्तुत गरेको एक तथ्यांकअनुसार विश्वभरिको अन्धोपन ५ सय ५५ महिलामा पुरुषभन्दा १ दशमलव ३५ गुणा बढी अन्धोपन हुन सक्ने देखाएको छ। प्रत्येक ५ जना दृष्टिविहिनमध्ये ४ जना दृष्टिविहीन हुन नपर्ने तथ्यले महिलाको आँखा स्वास्थ्यमा देखिएको खाडल कम गर्न तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउन्डेसनको सहकार्य महत्वपूर्ण देखिएको छ।
नेपालका गाउँका महिलाको अन्धोपन निवारण गर्नु धेरै चुनौती छन्। फ्रेड हलोज फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा नेपालका ७ वटा जिल्ला धनुषा, सर्लाही, सिन्धुली, महोत्तरी, कैलाली, बैतडी र डडेल्धुरामा महिलाको आँखा स्वास्थ्य सेवा पहुँचलाई अझ प्रभावकारी र सहज बनाउन एउटा परियोजना लिएर आएको छ।
आँखा स्वास्थ्य हेरविचारमा लैंगिकमैत्री जनचेतना विकास सामग्री उत्पादनको लागि लैंगिक मुद्दाका समूहलाई समेटी यही फागुन १५ देखि १७ सम्म काठमाडौंमा एक अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न गरिएको थियो। जसमा नेपाल, पाकिस्तान, बंगलादेश, भियतनाम र अस्ट्रेलियाका प्रतिनिधिको सहभागिता रहेको थियो।
तथ्याङ्क
– हाल २ करोड महिला अन्धोपना र १२ करोड महिलामा दृष्टिदोष रहेको देखिन्छ।
– अन्तर्राष्ट्रिय एजेन्सी फर द प्रिभेन्टेसन अफ ब्ल्यान्नेसको अध्ययनले सन् २०५० सम्ममा अन्धोपनाको भार ३ गुणा बढ्ने सम्भावना रहेको देखाउँछ।
किन महिला अन्धोपनाबाट बढी जोखिममा छन् ?
– आँखा स्वास्थ्यमा महिलाको पहुँच तुलनात्मकरूपमा पुरुषको भन्दा कम देखिन्छ।
– महिलाको औसत आयु पुरुषको भन्दा बढी भएकाले उमेरले निम्त्याउने आँखाको समस्या जस्तै मोतिविन्दुको समस्या महिलामा बढी देखिन्छ।
– आयआर्जन तथा परिवारको निर्णायक भूमिकामा नहुँदा हालको उपचारको लागत पुरुषमुखी बढी देखिन्छ
– आँखा सेवा लिन महिलालाई सहयोगी साथीको आवश्यकता पर्नाका कारण सेवा प्रयोगमा कमी हुने देखिएको छ।
– रोजगारमा कम सहभागिता तथा घरायशी कामको लागत मूल्यांकन नगरिनु अर्को कारण देखिन्छ।
फ्रेड हलोज फाउन्डेसन
फ्रेड हलोज फाउन्डेसन हटाउन सक्ने अन्धोपनमा विश्वमा कार्यरत एक अन्तर्राष्ट्रिय विकास संस्था हो। फ्रेड हलोज र उनकी श्रीमती ग्यावी हलोजद्वारा स्थापित यस फाउन्डेसनले विश्वका २५ देशमा अति सीमान्तकृत समुदायका व्यक्तिहरूको दृष्टि पुनःस्थापनामा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्