राष्ट्रपति निर्वाचन आज, उम्मेदवारले नै मत हाल्न नपाउने



गंगा बराल, काठमाडौं
आज हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारले नै मतदान गर्न पाउँदैनन्। वाम गठबन्धनका तर्फबाट विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारीलक्ष्मी राई उम्मेदवार बनेका छन्।

भण्डारी वर्तमान राष्ट्रपति रहनुभएको छ भने राई पूर्वसांसद हुनुहुन्छ। दुवै जनाको जन्मघर भोजपुर रहेको छ। बिहान १० बजेदेखि ३ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा हुने निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका कुल ८ सय ८४ सांसदले मतदान गर्नेछन्। सभामुखले मतदान नगर्ने भएकाले एक मत घट्नेछ। संसद्मा भण्डारीको पक्षमा बढी मत छ।

आइतबार प्रतिनिधिसभा संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा दुई तिहाइ मत प्राप्त गर्नुभएको थियो। ७ मध्ये ४ वटा प्रदेशमा एमालेको, २ वटा प्रदेशमा नेकपा माओवादी केन्द्रको सरकार बनिसकेकाले पनि प्रदेशमा समेत वाम गठबन्धनको मत अत्यधिक रहेको छ। कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य राई दोस्रो संविधानसभामा गठित महाअभियोग विशेष समितिकी सभापति हुनुहुन्थ्यो।

निर्वाचनका लागि २ वटा मतदान केन्द्र तोकिएका छन्। संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का लागि एउटा र प्रदेशसभाका लागि अर्को मतदान केन्द्र तोकिएको सूचना संसद् सचिवालयले प्रकाशित गरेको छ।

वाम गठबन्धनबीच भएको सहमतिअनुसार राष्ट्रपति एमालेले र उप–राष्ट्रपति नेकपा माओवादी केन्द्रले पाएको छ। उप–राष्ट्रपतिमा पनि नन्दबहादुर पुन दोहोरिनेछन्। संविधानअनुसार राष्ट्रपति र उप–राष्ट्रपति २ पटकभन्दा बढी हुन सक्ने व्यवस्था छैन। उपराष्ट्रपतिको निर्वाचन चैत १० गते हुन सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभएको छ।

सभामुखद्वारा पदबहाली

यसैबीच सभामुख कृष्णबहादुर महराले सोमबार पदबहाली गर्नुभएको छ। सिंहदरबारमा रहेको कार्यकक्षमा उहाँले दिउँसो २ बजे पुगेर कार्यभार सम्हाल्नुभएको थियो।

सभामुखले नयाँ संविधान बनेपछि जनतामा धेरै आशा भएकाले जनभावनालाई सार्थक बनाउन पहल गर्ने बताउनुभयो। ‘नौलो अनुभूति भएको छ, खुसी लागेको छ, संविधान कार्यान्वयनका लागि धेरै कानुन बनाउनु छ त्यसका लागि पहल गर्छु’, उहाँले पत्रकारसँग भन्नुभयो– ‘सम्पूर्ण भावना र विचारलाई समेटेर भूमिका निर्वाह गर्नेमा विश्वास दिलाउँछु।’ महरा २०४८ सालमा पहिलोपटक संसद् बनेर त्यसपछि निरन्तर संसदीय गतिविधिमा अभ्यास गर्दै आउनुभएको छ।

शुक्रबार सभामुखमा उहाँको मात्र उम्मेदवारी परेको थियो। शनिबार उहाँ संसद्बाट निर्वाचित भएको घोषणा गरिएको थियो। सभामुखले आइतबार बिहान ११ बजे शपथ खाएर दिउँसोका २ वटा बैठकसमेत सञ्चालन गरिसक्नुभएको छ। उप–सभामुखको निर्वाचन चैत २ गते हुँदै छ। सभामुख पुरुष भएपछि उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्