अस्वाभाविक अवतरण नै दुर्घटनाको कारण, नेपालीसहित ४९ को ज्यान गयो, छानबिन समिति गठन



दीपक रिजाल/दीपेन्द्र थापा, काठमाडौं,
बंगलादेशको ढाकाबाट काठमाडौं आउँदै गरेको यूएस बाङ्गला विमान काठमाडौं विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ घाइते भएका छन्।

दिउँसो २ बजेर १८ मिनेटमा काठमाडौं विमानस्थल अवतरण गर्ने क्रममा विमानले अस्वाभाविक हरकत देखाउँदै विमानस्थलको उत्तरतर्फबाट अवतरण गर्ने क्रममा दुर्घटना हुँदा २२ नेपाली, २५ बंगलादेशी, १ चिनियाँ र १ माल्दिभ्सका नागरिकको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो।

मारिने नेपालीमा केही बंगलादेशमा एमबीबीएस गर्दै आएका र केही ट्राभल एजेन्सीका सञ्चालक तथा एजेन्सीका कामदार रहेको बताइएको छ। विमानमा परी मारिनेको शव चिन्न नसक्ने अवस्थामा रहेको छ। शवहरू टिचिङ अस्पताललगायत उपत्यकाका विभिन्न अस्पतालमा राखिएका छन्। विमानमा परी मारिएकाको आफन्तहरू अस्पताल पुगेर रुवाबासी गरिहरेका छन्।

विमान भारतको विहार हुँदै नेपाल प्रवेश गरेपछि विमानकी क्याप्टेन पृथुला रसिदले आफू नेपाल प्रवेश गरेको जानकारी विमानस्थको टावरलाई गराएकी थिइन्। सिमरा हुँदै काठमाडौं उपत्यका प्रवेश गरेपछि विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न निर्देशन दिइएको थियो। विमानलाई दक्षिणतर्फको धावनमार्ग ०२ बाट अवतरण गर्न निर्देशन दिइएको भए पनि पाइलटले २० अर्थात् उत्तरतर्फबाट अवतरण गर्न खोजेको देखेपछि विमानस्थलमा खटिएका एयर ट्राफिक कन्ट्रोलरले विमान चालकलाई सबै कुरा ठीक छ भनेर सोधेको थियो।

प्रतिउत्तरमा क्याप्टेन पृथुलाले विमान ठीक अवस्थामा रहेको जानकारी गराएकी थिइन्। तर विमान अस्वाभाविक हुँदा हुँदै पनि चालकले आपत्कालीन अवतरणका लागि जानकारी नगराई विमानलाई अवतरण गराउन खोजिएको थियो। विमानले काठमाडौंको आकाशमा दुई चक्कर लगाएर गलत स्थान नेपाली सेनाको ११ नम्बर बाहिनीको माथिबाट धावनमार्गमा अवतरण गराउँदा विमान चिप्लिएर पूर्वपट्टिको घाँसे मैदान हुँदै फुटबल ग्राउन्डमा पुगेर आगलागी भएको थियो।

चालकले अस्वाभाविक अवतरण गराउन खोजेपछि एयर ट्राफिक कन्ट्रोलरले काठमाडौं विमानस्थलको उडान अवतरण बन्द गरेर उक्त विमानलाई अवतरणको सुविधा दिएको थियो।

एयर ट्राफिक कन्ट्रोलरको कार्यालय रहेको भवनलाई ताकेर अवतरण गर्ने तरखर गरेपछि एयर ट्राफिक कन्ट्रोलरले विमान चालकलाई पटक पटक धावनमार्गमा लैजान निर्देशन दिएपछि विमान धावनमार्गतर्फ लागेको थियो।

विमानस्थलमा पार्किङ गरेका नेपाल एयरलाइन्स, हिमालयन एयर र उडान भर्ने तयारीमा रहेको मालिन्दो एयरलाइन्सलाई समेत विमान अवतरणको क्रममा छुन खोजेको थियो। विमान चालकले होसियारी अपनाएका कारण काठमाडौं एयरपोर्ट ठूलो दुर्घटनाबाट जोगिएको छ। यूएसबाङ्गलाको कलसाइन बीजी २–११ को विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार थिए। जसमा पुरुष ३७, महिला २८ र २ जना बालबालिका रहेका थिए। विमानमा ३३ नेपाली, ३२ बंगलादेशी, १ जना चिनियाँ र १ जना माल्दिभ्सका नागरिक रहेका थिए। विमान चालक दलका चारै जना दुर्घटनामा परी मारिएका छन्।

दुर्घटनामा परी घाइते भएकामध्ये केएसमसीमा ११, नर्भिकमा ५, ग्रान्डी ३ जना, न्युरोमा १ जना, मेडिसीटीमा १ जना र ओम अस्पतालमा १ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये केहीको बाहेक अन्यको अवस्था अत्यन्त चिन्ताजनक रहेको छ।
घाईतका आफन्तहरू समेत अस्पताल पुगेका छन। उनीहरू घाईतेको अवस्था जान्न अस्पताल परिसरमा ब्यग्रप्रतिक्षामा रहेपनि अस्पताल प्रशासनले भने घाइतेको अवस्था नाजुक भएको भन्दै कसैलाई पनि भेट गर्न दिएको थिएन।

गोप्य सूचना बाहिरियो

‘एयर ट्राफिक कन्ट्रोलमा भएको संवाद जहाज र विमानस्थलको गोप्य दस्तावेज बाहिरिएको छ। यस्ता गोप्य दस्तावेज बाहिरिनु भनेको उड्डयन क्षेत्रका लागि अपराध हो। यसको बारेमा हामी अनुसन्धान गर्छौं।’ –नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताउनुभयो। उड्डयन क्षेत्रमा भएको कन्ट्रोलरको संवादको बारेमा जनकारी पाउने अधिकार कसैलाई पनि हुँदैन। यसका लागि केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। यो संवाद कसरी बाहिरियो भन्ने बारेमा पनि अनुसन्धान हुने जनाइएको छ।

अध्ययन टोली गठन

दुर्घटनाको सरकार र विभिन्न राजनीतिक दलले दुःख व्यक्त गरेका छन्। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ। आयोगका सदस्यमा प्रमुख सेनानी डा. राजीव देव तथा क्याप्टेनहरू केके शर्मा, सुनिल प्रधान र उद्धवप्रसाद सुवेदी तथा सदस्यसचिवमा पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहनुभएको छ। विमान दुर्घटनाको बारेमा अनुसन्धान गरेर नै कारण खोजी गरिनेछ। यसका लागि सरकारले नै दुर्घटनाको बारेमा अध्ययन अनुसन्धान गर्नेछ। त्यसमा बंगालादेशी नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि पनि संलग्न हुने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्