विश्वकप छनोटमा नेपालले हङकङलाई हरायो



काठमाडौं  । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ। समूह ‘बी’ को खेलमा लगातार ३ खेलमा पराजित भएको नेपालले सोमबार हङकङलाई पराजित गरेसँगै एकदिवसीय मान्यता पाउने आसा बढेको छ। नेपाल समूहमा चौथो भएको छ। अफगानिस्तान रनरेटमा अघि रहदै तेस्रो भएर सुपर ६  पुगेको छ।

हङकङले दिएको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभरमा पार गर्यो।

खराब सुरुवात गरेको नेपालको जितमा रोहित कुमार पौडेल र सोमपाल कामीले छैटौं विकेटका लागि ८९ रनको साझेदारी गरे। रोहितले नटआउट ४८ रन बनाए भने सोमपाल कामीले नटआउट ३७ रन जोडे। रोहितले ८६ बलमा ६ चौका हाने। सोमपालले ४० बलमा ४ चौका प्रहार गरे।

पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको नेपालले ६६ रन बनाउँदा ५ विकेट गुमााउँदा नेपाल दबाबमा आएको थियो।

‍पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका अनिल कुमार साह २६ रनमा आउट भए। उनले ३६  बल खेल्दा ५ चौका प्रहार गरे। अर्का ओपनर ज्ञानेन्द्र मल्ल ३१ बल खेलेर १२ रन मा पेभिलियन फर्के। दुवैलाई एेजाज खानले आउट गरेका हुन्।  यस्तै कप्तान पारस खड्का ११ रनमै पेभिलियन फर्के। आरिफ शेख पनि २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा परेका थिए। लगत्तै दीपेन्द्रसिंह ऐरी पनि १२ रनमा आउट भए।

त्यअघि बुलावायो मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८.२ ओभरमा १ सय ५३ रनमा अलआउट भयो।

हङकङलाई सामान्य योगफलमा रोक्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। सन्दीपले हङकङका अंशुमान राथ, शाहिद वासिप आइजाज खानलाई पेभेलियन फर्काएका थिए।

बसन्त रेग्मी र करण केसीले २–२ विकेट लिए। सोमपाल कामी र ललित राजवंशीको नाममा १-१ विकेट रह्यो।  हङकङका प्रारम्भिक ब्याट्सम्यान क्रिस्टोफर कार्टर ९ रनको स्थितिमा बसन्तको बलमा बोल्ड भएका थिए। हङकङका कप्तान बाबर हयात तीव्र रन बनाउने होडमा सोमपाल कामीको हातबाट कट एन्ड बोल्ड हुन पुगे। आउट हुनुअघि उनले १ छक्का र ३ चौकाको मदतमा २० रन जोडे। उनले प्रारम्भिक ब्याट्सम्यान निजाकत खानसँग मिलेर २९ रनको साझेदारी गरे।

बाँकि ५ रन जोड्दा हङकङले आफ्ना २ विकेट गुमाएको थियो। मध्यक्रमका ब्याट्सम्यानद्वय अन्सुमन राठ र साहिद वासिफ समान १-१ रनमा पेबेलियन फर्किएपछि हङकङ दबाबमा आएको थियो। लेग स्पिनर सन्दीप लामिछानेले राथलाई विकेटकिपर अनिलकुमार शाहको हातबाट स्टम्पिङ गराए। त्यस्तै वासिफ पनि लामिछानेको एलबिडब्लुको धरापमा परे।

त्यसपछि मैदान छिरेका सिमान्दिप सिंहलाई ज्ञानेन्द्र मल्लले ३ रनको व्यक्तिगत स्कोरमा पेबेलियनको बाटो देखाए। सिंह रनआउट भएका हुन्। छैटौँ विकेटका रुपमा हङकङका प्रारम्भिक ब्याट्सम्यान निजाकत खान ४७ रनको व्यक्तिगत स्थितिमा आउट भए। उनी अर्धशतक बनाउनबाट मात्र ३ रनले चुके। नेपालका लागि खतरनाक हुनसक्ने अनुमान गरिएका खानलाई ललित राजवंशीले पारस खड्काको हातबाट क्याच आउट गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्