२१ लाखको लागतमा विद्यालयमा भवन



पर्वत । करिव २१ लाखको लागतमा पर्वतको लिमिठाना माविमा दुई कोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको छ । विद्यालयमा भवनको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीय स्तरमा विद्यालय तथा बालबालिकाको क्षेत्रमा काम गर्ने दातृ निकायको सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदारी संस्था सोडेक नेपालको परिचालनमा भवन निर्माण सम्पन्न भएको हो । गुड नेवर्सको १८ लाख सहयोग र स्थानीयबासी तथा विद्यालयको ३ लाख जनश्रमदानबाट भवन निमार्ण सम्पन्न भएको विद्यालयका प्रधानध्यापक यामप्रसाद शर्माले जानकारी दिए ।

भवन निर्माण सँगै विद्यालयले प्रविधियुक्त शिक्षण सिकाई क्रियाकलाप समेत सञ्चालन गर्ने लक्ष्य लिएको छ । सो सँगै विद्यालयले करिव ३० जना विद्यार्थीले एकैपटक पढ्नपाउने गरी कम्प्युटर कक्षा सँगै प्रोजेक्टरको माध्यामबाट पठनपाठन हुने गरी श्रव्यदृश्य सामग्री सहितको स्मार्ट कक्षा सञ्चालन गर्न लागिएको प्रअ शर्माले जानकारी दिए ।

नवनिर्मित भवनका हालै एक समारोहका बीच प्रदेश सभा सदस्य सांसद विकास लम्सालले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले शिक्षा नै समृद्धिको पहिलो जड भएको बताउँदै गुणस्तरीय शिक्षामा सवैले ध्यान दिनुपर्नेमा जोड दिए ।

पर्वतका विभिन्न नगरपालिका तथा गाउँपालिकाका ६ वटा वडामा विगत ५ बर्ष देखि काम गर्दै आएको गुडनेवर्स इन्टरनेशनल नेपालले गत बर्ष देखि स्थानीय संस्था सोडेक नेपालको साझेदारीमा सोही क्षेत्रका २२ विद्यालय र १२ सय विद्यार्थीहरुमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसै क्रममा गत अंग्रेजी बर्ष २०१७ मा मात्रै भौतिक संरचना अन्तर्गत ३ वटा विद्यालयमा भवन निर्माण गरी कुनै भवन हस्तान्तरण भइसकेका छन् भने कोही निर्माण सम्पन्न हुने चरण रहेको संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले बताए ।

सो सँगै गुड नेवर्सको सहयोगमा खानेपानी तथा सरसफाई, बालबालिकाका अभिभावकलाई आयआर्जन लगायतका क्षेत्रमा समेत काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्