कृषिको प्रयोगमार्फत पर्यटनको प्रवद्धनमा युवा



प्रताप बानियाँ, म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौरका युवा अशोक शर्माले कृषिको प्रयोगमार्फत पर्यटन प्रवद्र्धनको विकासका लागि कटेज सञ्चालन गर्दै आइरहेका छन् । २०७२ सालको बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पपछि गाउँ फर्किएर उनले २ वर्ष अगाडि के.डी. कजेटको स्थापना गरी सञ्चालन गरेका हुन् ।

काठमाडौंको कोटेश्वरमा बस्दै आएको घर भूकम्पले भत्काएपछि उनले गाउँ फर्किएर व्यवसाय सुरु गरेका थिए । उनले सिमलचौरको तीन रोपनीको आफ्नो जग्गामा माछापोखरी र कटेज निर्माण गरेर व्यवसाय सुरु गरेको बताएका छन् । हरेक क्षेत्रमा व्यावसायिकता खोज्ने गरेका शर्माले आफू कृषि परिवेशमा जन्मिएर हुर्किएको हुँदा त्यसै क्षेत्रबाट पर्यटनमा प्रवेश गरेको जानकारी दिए ।

कृषिको प्रयोग गरेरै पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्नका लागि आफू यस क्षेत्रमा लागेको उनको भनाई छ । सुरुमा १५ लाख रुपैयाँको लगानीबाट स्थापना भएको कटेजमा अहिले ५० लाख लगानी पुगेको सञ्चालक शर्मा बताउँछन् । उनले कटेजकै छेउछाउमा ६० फिट लम्बाई र ३० फिट चौडाइको तीनओटा पोखरी निर्माण गरेर माछापालन गरेका छन् । पाहुनालाई अग्र्यानिक परिकार खुवाउने उद्देश्यसहित उनले पोखरीमा कमन र ग्रासकार्प जातको माछापालन गरेका हुन् ।


होमस्टेमा आधारित शर्माको कटेजमा एक रातमा १० जनाको घरबास बस्न सकिन्छ भने बर्ड–थे र कुनै विशेष पार्टी वा कार्यक्रमका लागि ५० जना जति अट्न सक्ने ठाउँ रहेको छ । विशेष गरी प्राकृतिक उपचारको स्थल बनेको तातोपानी कुण्ड र पर्यटकीय क्षेत्र टोड्केमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको शर्माको कटेजमार्फत टोड्केका लागि ग्राहकको चाहना अनुसार टोड्के जोन प्याकेजको व्यवस्था गरिएको सञ्चालक शर्मा बताउँछन् ।

व्यवस्थापन विषयमा स्नातकोत्तर र समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका शर्माले म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न आफूले होमस्टे सञ्चालन गरेको बताए । उनको कटेजमा जेठोबुढो र गौरिया धानको लोकल चामलको भातसहित फापर तथा कोदोको ढिँडो र गुन्द्रुकको समेत स्वाद लिन पाउनुका साथै स्थानीय परिकारहरु खान पाइन्छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गैरहेको के.डी. कटेजका प्रोप्राइटर समेत रहेका अशोक शर्माले बताए । उनका अनुसार कटेजमा कतिपय पर्यटकहरु घुम्दै आउने गरेको र कोही आउनुभन्दा पूर्व नै टेलिफोन सम्पर्क गरेर आउने गरेका छन् । प्रायः एकपटक आउने ग्राहकहरु अर्को–अर्को पटक पनि आउने गरेको उनले बताए । कटेजप्रति ग्राहक र पाहुनाको आकर्षण बढ्दै जान थालेको उनको अनुभव छ ।

उमेरले ३० वर्षमा रहेका शर्माले कटेजमा ४ जनालाई रोजगारी पनि दिएका छन् । एकजना व्यवस्थापक, एक कुकमेन र दुई जनालाई पार्टटाइमका रुपमा रोजगारी दिएको सञ्चालक शर्माले बताए । उनले कटेजमार्फत मासिक रुपमा तीनलाख देखि पाँचलाख रुपैयाँसम्म कमाई हुनेहुँदा महिनामा एकलाख रुपैयाँ भन्दाबढी बचत गर्ने गरेको जानकारी दिएका छन् । आगामी दिनमा कटेजका साथै सेवासुविधाको पनि विस्तार गर्ने लक्ष्य उनको रहेको छ । होमस्टे सञ्चालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने र पर्यटक आकर्षण बढाउन सकिने शर्माको अनुभव रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्