बालमैत्री नगरपालिका बनाउन प्रतिबद्धता



विनोद सिंह विष्ट, बैतडी । बैतडीको पाटन नगरपालिकाका जनप्रतिनिधिहरुले स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा बालबालिकाहरुका सवाललाई योजना र कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।

पाटन नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका बनाउने उद्देश्य सहित जनप्रतिनिधि र सरोकारवालाहरुले १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । यसका साथै नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनका लागि प्रतिबद्धता गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।

प्रतिबद्धता पत्रमा नगरपालिकाले आगामी दिनमा सञ्चालन गरिने कार्यक्रममा बालबालिकाहरुका योजनाहरुलाई अनिवार्य रुपमा समावेश गर्ने, विपद् व्यवस्थापनका कुराहरुलाई ध्यान दिएर योजना निर्माण गर्ने लगायतका छन् । यस्तै समाजमा रहेका कुरीतिहरुको अन्त्य गरी पाटनलाई सभ्य र समृद्ध नगरपालिका बनाउने जनप्रतिनिधिहरुले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाभित्र रहेका सबै विद्यालयहरुमा बालविकास केन्द्रको स्थापना गरि बालबालिकाहरुको शिक्षामा सहज पहुँच पुर्याउने, खानेपानीका मूहानहरुको संरक्षण गरि स्वच्छ खानेपानीमा नगरबासीको पहुँच पुर्याउने प्रतिबद्धता पत्रमा जनाइएको छ । अन्य स्थानीय तहको तुलनामा बालबालिकाको क्षेत्रमा बढी रकम विनियोजन गरेको बताउँदै नगरप्रमुख केशवबहादुर चन्दले आगामी दिनमा बालबालिकाका सवाललालाई अझै मसिनो गरि केलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पाटन नगरपालिका अन्तर्गत गाभिएको साविवको सिद्धेश्वर गाविस बालमैत्री घोषणा भईसकेको र वडा नं १ लाई पनि निकट भविष्यमै बालमैत्री घोषणाको तयारी भईरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्