विकास बजेट शिक्षकको तलबमा



विनोद सिंह विष्ट, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ ।

लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकहरुलाई विकास बजेटबाट तलब खुवाएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताउनुभयो ।

अर्थ मन्त्रालयले कम रकम निकासा दिएपछि विकास बजेटबाट तलब खुवाउनुपरेको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयले दश करोड रुपैयाँ मात्रै निकासा दिएकाले नगरपालिकाले ४ करोड ३५ लाख ३ हजार १ सय ६० रुपैयाँ विकास बजेटबाट थपेर शिक्षकहरुलाई तलबभत्ता वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताउनुभयो ।

समयमा तलब नदिएको भन्दै शिक्षक संघसंगठनहरुले आन्दोलन गरेपछि नगरपालिकाले विकास बजेटबाट तलब भत्ता वितरण गरेको हो । यसअघि शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयबाट तलबभत्ता पाउँदै आएका थिए ।

संघीय संरचना अनुसार शिक्षाको सबै अधिकार स्थानीय तहमा गएपछि तलबभत्ता खुवाउने जिम्मा पनि स्थानीय तहमै आएको छ । दशरथचन्द नगरपालिका अन्तर्गत ५६ ओटा सामुदायिक विद्यालय रहेका छन् ।

नगरपालिकाको विकाससहित दुई चौमासिकको तलबभत्ता वितरण गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख गणेश जोसीले बताउनुभयो । विकास बजेट शिक्षकको तलबमा खर्च भएकाले समयमा निकासा नभए विकास निर्माणका काममा बाधा पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्