द रोलिङ स्टोन्सको अभिभावक दिवस



मरू भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलको दोस्रो अभिभावक दिवस सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–२० का वडा अध्यक्ष राजेन्द्र मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिरियामा भइरहेको हिंसा अन्त्यका लागि परेवा उडाएर शान्तिको कामना गर्दै उद्घाटन गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनीलकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमतामा विकास भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘विद्यार्थीले देखाएको विविध प्रदर्शनले विद्यालयको साख झनै बढेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको थप क्षमता विकासका लागि विद्यालयले खेलेको भूमिका महत्त्वपूर्ण छ।


कार्यक्रममा कक्षा–८ मा अध्ययनरत सेख गुलफाम आलम र कक्षा–७ मा अध्ययनरत अनुप भण्डारीलाई उत्कृष्ट विद्यार्थीबाट सम्मान गरिएको थियो। प्रमुख अतिथि सुनीलकृष्ण श्रेष्ठले विद्यार्थीद्वयलाई सम्मान गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रिन्सिपल दिरेकलाल श्रेष्ठले सानो सोचबाट नै विद्यार्थीको भविष्य उज्वल हुन सक्ने बताउँदै विद्यार्थीको वृत्ति विकासका लागि नयाँ पहल थालिएको जानकारी दिनुभयो।

यस भेगको उत्कृष्ट विद्यालय हुन पुगेकोमा खुसी व्यक्त गर्दै उहाँले अभिभावकको हितका लागि थप अतिरिक्त कार्यक्रमहरू सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो क्षेत्रको शैक्षिक विकासका लागि अभिभावको महत्त्वपूर्ण भूमिका रहने चर्चा गर्दै त्यसका लागि अभिभावक र विद्यालयबीच सहयात्रा आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘आफ्नो ठाउँ आफैंले बनाउन सबैले पहल गर्नुपर्छ।’ प्रारम्भिक बाल विकास गर्न साना बच्चाहरूलाई प्रयोगात्मक शिक्षा दिइएको उहाँले बताउनुभयो। विद्यालयले पढाइको अतिरिक्त विद्यार्थीको क्षमता विकास गर्न खेलकुद, मनोरञ्जन, नृत्यकला, वक्तृत्वकला, चित्रकला, हस्तकलालगायतका विषयमा बढी ध्यान केन्द्रित गरेको छ।

कार्यक्रममा अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य, खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा कक्षा–७ की विद्यार्थी जिज्ञासा श्रेष्ठकी अभिभावक जमुना श्रेष्ठ, कक्षा–१ का नुमाङ कोइरालाका अभिभावक ललिता कोइराला र उपसाना नेपालीकी अविभावक उर्मिला नेपालीलाई सुपर प्यारेन्सबाट सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्